दमकमा फेला परे एक वर्षअघि काठमाडौंबाट भागेका कैदी

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०९:०८

विराटनगर । काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएको एक वर्षपछि जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका एक कैदी झापाको दमकमा फेला परेका छन् ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ ढुँसेसाँघुका २७ वर्षीय राजकुमार लिम्बूलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको हो । लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार साँझ करिब ७ बजेतिर उनलाई नियन्त्रणमा लिएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।

Advertisement

लिम्बू काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनको आवरणमा कैदीबन्दी फरार हुँदा लिम्बू पनि २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।

जबर्जस्ती करणी मुद्दामा लिम्बूलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ असार २२ गते १८ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलाअनुसार उनले पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नुपर्ने थियो ।

कारागारबाट भागेपछि उनी झापाको दमकमा लुकिछिपी बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए । उनका अनुसार पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×