विद्यार्थी जीवनको संघर्ष बोकेको चलचित्र पर्दामा ल्याउने अन्तिम तयारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०६:५५

झापा । विद्यार्थी जीवनमा देखिने संघर्ष, पारिवारिक आर्थिक अवस्था र शिक्षामा विद्यमान असमानतालाई कथावस्तु बनाइएको नेपाली चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ दर्शकमाझ आउने तयारीमा छ ।

विद्यार्थी जीवनको संघर्ष बोकेको चलचित्र पर्दामा ल्याउने अन्तिम तयारी भइरहेको हो । पाथीभरा थिएटर एण्ड सिने प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छयांकन पूरा भएसँगै निर्माण पक्षले सम्पादन तथा प्रदर्शनको तयारी थालेको छ ।

Advertisement

झापाका विभिन्न स्थानमा छयांकन गरिएको चलचित्रले विद्यार्थीको शैक्षिक यात्रालाई सामाजिक परिवेशसँग जोडेको छ । एउटै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक अवस्था फरक हुँदा उनीहरूको पढाइ, अवसर र भविष्यमा पर्ने प्रभावलाई चलचित्रमा कथाका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रले शिक्षामा आर्थिक अवस्थाले पार्ने प्रभावसँगै विद्यार्थीको क्षमता, मिहिनेत र लगनशीलतालाई पनि केन्द्रमा राखेको छ । आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्था र त्यसका बाबजुद आफ्नो लक्ष्य प्राप्तिका लागि विद्यार्थीले गर्ने संघर्ष चलचित्रमा देखाइएको निर्माण पक्षले जनाएको छ ।

विद्यालयको वातावरण, शिक्षक–विद्यार्थी सम्बन्ध र अभिभावकको भूमिकालाई पनि कथामा समेटिएको छ । विद्यार्थीको सफलतामा परिवार र विद्यालयको वातावरणले पार्ने प्रभाव तथा कठिन परिस्थितिमा पनि निरन्तर प्रयास गर्नुपर्ने सन्देश चलचित्रले दिन खोजेको निर्देशक प्रितमकुमार धमलाले बताए ।

चलचित्रको कथा, लेखन तथा निर्देशन धमलाले गरेका हुन् । पटकथा तथा संवाद मञ्जिल अधिकारीको रहेको चलचित्रका निर्माता रमेशकुमार खरेल हुन् भने उत्पादन व्यवस्थापनको जिम्मेवारी राजु खरेलले सम्हालेका छन् ।

चलचित्रमा कृषा भण्डारी, राजु खरेल, राज लावती, अनुष्का ढुंगाना, अनुभव खापुङ, रिदम ढकाल, दीपा पोखरेल र तुलसी मिश्रलगायत कलाकारले अभिनय गरेका छन् । विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका विभिन्न पात्रको भूमिकामार्फत कथालाई अघि बढाइएको छ ।

चलचित्रको छयांकन राज लावतीले गरेका छन् भने संगीत विकाश चौधरीको रहेको छ । सुवास लिम्बूले मेकअप तथा राजु लावतीले नृत्य निर्देशन गरेका छन् । चलचित्रका गीतमा दिनेशराज शर्मा र डा. कुमार सुवेदीका शब्द रहेका छन् ।

स्थानीय परिवेश र सामाजिक विषयलाई प्राथमिकता दिइएको चलचित्रलाई मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षासँग जोडिएका विषयमा दर्शकलाई सोच्न प्रेरित गर्ने उद्देश्य रहेको निर्देशक धमलाले बताए । ‘विद्यार्थीको संघर्षलाई वास्तविक जीवनसँग नजिकबाट प्रस्तुत गर्ने प्रयास गरेका छौँ,’ उनले भने, ‘पारिवारिक अवस्था, विद्यालयको वातावरण र विद्यार्थीको मिहिनेतले उसको यात्रामा पार्ने प्रभाव चलचित्रमा देख्न सकिन्छ ।’

छयांकन सकिएपछि चलचित्रको सम्पादन र अन्य प्राविधिक काम अघि बढाइएको निर्माण पक्षले जनाएको छ । विजया दशमीको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने तयारी भइरहेको हो । झापाको सामाजिक तथा शैक्षिक परिवेशलाई आधार बनाइएको चलचित्रले विद्यार्थी जीवनका विविध पक्षलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×