म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिबाना

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०९:१८

पोखरा। म्याद गुज्रिएका खाद्यवस्तु पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बिक्री वितरण गरेको पाइएपछि पोखरा महानगरपालिका–९, नयाँबजारस्थित मोहित ट्रेडर्सलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका तथा किराले खाएर खान अयोग्य अवस्थामा भेटिएका थिए । पसलको सरसफाइको अवस्था पनि कमजोर रहेको अनुगमन टोलीले जनाएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार म्याद गुज्रिएका चामललगायत खाद्यवस्तु पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेको समेत अनुगमनका क्रममा पुष्टि भएको थियो । त्यसपछि प्रचलित कानुनअनुसार ट्रेडर्सलाई जरिवाना गरिएको उनले बताए ।

‘म्याद गुज्रिएका र किराले खाएका खाद्यवस्तु बिक्रीका लागि राखिएको पाइयो । जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको देखिएपछि कानुनअनुसार कारबाही गरेका हौं,’ बरालले भने । अनुगमन टोलीले म्याद गुज्रिएका तथा खान अयोग्य खाद्यवस्तुको थप बिक्रीमा रोक लगाउँदै तिनको व्यवस्थापन गरेको छ । खाद्यवस्तु पुनः प्रशोधन गर्न प्रयोग गरिएको रिफाइनिङ मेसिन पोखरा महानगरपालिकाले जफत गरेको छ ।

प्रशासनको टोलीले पोखराका अन्य ठूला खाद्य स्टोर्समा समेत अनुगमन गरेको थियो । ती पसलमा खाद्यवस्तुको म्याद, गुणस्तर, भण्डारणको अवस्था, मूल्यसूची, सरसफाइ तथा उपभोक्ता स्वास्थ्यमा पर्न सक्ने जोखिमबारे निरीक्षण गरिएको प्रशासनले जनाएको छ ।

दसैं, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारीले अनुचित लाभ लिन सक्ने तथा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने जोखिमलाई ध्यानमा राखेर बजार अनुगमनलाई थप प्रभावकारी बनाइने बरालले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×