
भोजपुर । चाडपर्वको समयमा अस्वस्थकर मासु तथा माछाको बिक्री हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भोजपुर बजारका मासु तथा माछा पसलमा आकस्मिक अनुगमन गरिएको छ।
स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका १० वटा मासु तथा माछा पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु तथा माछा बिक्रीका लागि राखिएको पाइएको छ।
बजारस्थित ‘दाजुभाइ माछा पसल’बाट सडेको र गन्ध आइसकेको अवस्थामा रहेको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले चाडपर्वका बेला माछा तथा मासुको माग बढ्ने भएकाले अस्वस्थकर वस्तुको बिक्री हुन नदिन अनुगमन गरिएको बताए। उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कसैलाई नभएको उनले बताए।
‘छड्के अनुगमनका क्रममा भेटिएका अस्वस्थकर वस्तुलाई स्थलगत रूपमै नष्ट गरेका छौँ। त्यसका साथै पसलहरूलाई आवश्यक सुझावसमेत दिएका छौँ,’ दाहालले भने।
अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डाक्टर देवकुमार दर्लामीसहितको प्राविधिक तथा विज्ञ समूह सहभागी थियो। अनुगमनका क्रममा अघिल्ला पटक दिइएका सुझावअनुसार केही मासु व्यवसायीले सरसफाइ र गुणस्तरमा सुधार गरेको पाइएको डाक्टर दर्लामीले बताए।
यद्यपि केही पसलमा दर्ता नवीकरण, सरसफाइ र मूल्यसूची टाँस गर्नेलगायत विषयमा कमीकमजोरी देखिएको टोलीले जनाएको छ। ती व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।
चाडपर्वको मौका छोपेर अस्वस्थकर खाद्यवस्तु बिक्री गर्ने, कालोबजारी गर्ने वा तोकिएकोभन्दा बढी मूल्य लिने जस्ता गतिविधि रोक्न आगामी दिनमा बजार अनुगमनलाई थप तीव्र र निरन्तर बनाइने टोलीले जनाएको छ।
अनुगमन टोलीले उपभोक्तालाई माछा तथा मासु खरिद गर्दा ताजा र गुणस्तरीय वस्तु रोज्न तथा शङ्कास्पद वस्तु भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजनामा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका पशु सेवा शाखालगायतका प्रतिनिधिको सहभागिता थियो।



















