
विराटनगर । जेसीआई विराटनगरको आयोजनामा जारी ‘ट्रेनिङ विक २०२६’ अन्तर्गत ‘फाइनान्सियल ३६०°’ विषयक विशेष तालिम सम्पन्न भएको छ। सेप्टेम्बर १९ देखि २४ सम्म सञ्चालन हुने तालिम सप्ताहको तेस्रो दिन ‘सिक्नुहोस्, व्यवस्थापन गर्नुहोस् र पैसा बढाउनुहोस्’ भन्ने मूल नाराका साथ तालिम आयोजना गरिएको हो।
विराटनगरस्थित सामुदायिक विद्यालयमध्ये नमुना मानिने पोखरिया माध्यमिक विद्यालयमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले नेपालमा बीमा र बैंकिङ क्षेत्रका आधारभूत पक्षबारे जानकारी गराए। श्री इन्भेस्टमेन्टका प्रमुख विशिष्ट अतिथि हरिबहादुर श्रेष्ठ र विद्यालयका प्राचार्य खेमराज भट्टराईले वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन सके मात्र व्यक्तिगत तथा संस्थागत लक्ष्य हासिल गर्न सहज हुने धारणा राखे।
नेपाल जेसीजका टीओटी प्रशिक्षक तथा प्रभु बैंकका रिलेसनसिप अफिसर जेसी सबिन अधिकारीले मुख्य प्रशिक्षकका रूपमा विद्यार्थीलाई वित्तीय साक्षरता, आर्थिक व्यवस्थापन तथा लगानीसम्बन्धी प्रशिक्षण दिएका थिए। कार्यक्रमको संयोजन जेसी रमेश थापाले गरेका थिए।
तालिम सञ्चालनमा सजिलो फार्मेसी, विराट स्पोर्ट्स जोन, ओली एन्ड एसोसिएट्स, शुभश्री नेटवर्क प्रालि र विराटनगर ओरो डेन्टल केयरले सहयोग गरेका थिए। शैक्षिक साझेदारका रूपमा जेसी बाल सदन माध्यमिक विद्यालय, ब्रान्डिङ साझेदारका रूपमा ग्राफडिजाइन एडभरटाइजिङ तथा मिडिया साझेदारका रूपमा ‘अखबारका कुरा’ रहेका थिए।
विराटनगर जेसीजका तालिम निर्देशक जेसी अभिषेक भट्टराईका अनुसार तालिम सप्ताहभर विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

























