
काठमाडौं । राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको पलेँटी यही सेप्टेम्बरको अन्तिम सप्ताहन्तमा आयोजना हुने भएको छ। नेपालयको ‘आर’शालामा हुने कार्यक्रममा यसपटक गीतकार तथा अभिनेता नीर शाहका रचना प्रस्तुत गरिनेछ।
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको पलेँटीमा गत महिना नै नीर शाहलाई प्रस्तुत गर्ने तयारी थियो। रसुवामा आएको विनाशकारी बाढीका कारण कार्यक्रम स्थगित गरिएको थियो। आउँदो सेप्टेम्बर २५ र २६ गते हुने कार्यक्रममा शाहले रचना गरेका झन्डै डेढ दर्जन गीत प्रस्तुत गरिनेछ। पलेँटीका कण्ठ–शिल्पी अभिज्ञा घिमिरे र रूपक चौधरीले ती गीत गाउनेछन्।
नीर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता तथा निर्देशक हुन्। अभिनय र निर्देशनसँगै उनले गीत रचनामा पनि योगदान दिएका छन्। उनका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराईमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’ र ‘हिउँभन्दा चिसो’ लगायतका गैरफिल्मी गीत चर्चित छन्।
त्यस्तै, उनले रचना गरेका ‘आँखैमा कसैको तस्वीर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’ र ‘यो साँझ यो सुवास’ लगायतका फिल्मी गीत पनि लोकप्रिय छन्। यसपटकको पलेँटीमा नातिकाजी, शम्भुजित बास्कोटा, सीके रसाइली र दीप श्रेष्ठले संगीत भरेका शाहका रचना समेटिएका छन्।
कार्यक्रमको पूर्वाभ्यासमा सहभागी शाहले पलेँटीलाई आफ्नो जीवनका महत्वपूर्ण सांगीतिक शृंखलामध्ये एकका रूपमा लिएको बताए। ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि संगीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ,’ उनले भने, ‘पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ। गायक–वाद्यवादक सबै प्रतिभासम्पन्न हुनुहुँदो रहेछ। गौरवशाली इतिहास बोकेको पलेँटीमा उहाँहरूको प्रतिभाको प्रत्यक्ष साक्षी हुन पाउँदा उत्साहित छु।’
नारायण गोपालको लाइभ कन्सर्ट आयोजना गरेको अनुभव स्मरण गर्दै शाहले पलेँटी पनि आफ्नो जीवनका महत्वपूर्ण सांगीतिक अनुभवमध्ये एक हुने बताए। पलेँटीका संयोजक आभासका अनुसार संगीत रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपटक शाहलाई निम्त्याइएको हो। सञ्चार र चलचित्र क्षेत्रसँगै गीति साहित्यमा पनि शाहको उल्लेख्य योगदान रहेको उनले बताए।
करिब २२ वर्षदेखि सञ्चालन हुँदै आएको पलेँटी लघु सांगीतिक कार्यक्रम हो। यसपटकको कार्यक्रम सेप्टेम्बर २५ र २६ गते नेपालयको ‘आर’शालामा हुनेछ।



















