
भोजपुर। गाई वस्तुलाई सताउने खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यले व्यापक खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजनामा जिल्लाका नौवटै स्थानीय तहमा असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म यो अभियान सञ्चालन हुनेछ ।
केन्द्र प्रमुख पुष्पराज दाहालका अनुसार अभियानका लागि ६१ हजार डोज खोरेतविरुद्धको खोप उपलब्ध भइसकेको छ र किसानको गोठमै पुगेर पशुलाई खोप लगाइने छ । यसका लागि ७६ जना खोपकर्तालाई खोप लगाउने विधि र अभिलेखीकरण सफ्टवेयर सञ्चालनसम्बन्धी एक दिने तालिम समेत प्रदान गरिएको छ ।
दाहालका अनुसार यस अभियानले खोरेत नियन्त्रणसँगै दूध र मासु उत्पादन वृद्धि तथा पशुपालक किसानको आर्थिक अवस्था सुधार्ने लक्ष्य राखेको छ । खोप लगाउने क्रममा किसानलाई पशु रोग रोकथाम र उपचारसम्बन्धी जानकारी पनि दिइने छ ।
भोजपुरका अधिकांश परिवार पशुपालनमा निर्भर रहेकाले यो अभियान पशु स्वास्थ्य सेवालाई किसानको ढोकैमा पुर्याउने प्रयासका रूपमा लिइएको छ । पहिलो चरण सकिएपछि आवश्यकताअनुसार दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ ।
यस अभियानले खोरेत रोगको जोखिम घटाउँदै जिल्लाको पशुपालन व्यवसायलाई सुरक्षित र दीर्घकालीन रूपमा लाभदायक बनाउने अपेक्षा गरिएको छ ।



















