हिउँदमा लोडसेडिङ नहुने प्राधिकरणको दाबी, विद्युत् व्यवस्थापनको तयारी तीव्र

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १०:५०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी थालेको छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा हिउँदमा विद्युत् माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि अध्ययन तथा पूर्वतयारी अघि बढाइएको हो।

हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनबारे मंगलबार प्राधिकरणमा बसेको बैठकले आवश्यक अध्ययन तथा कामलाई तीव्रता दिने निर्णय गरेको छ।

Advertisement

रसुवामा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन प्रभावित भएको छ। यही अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदको माग र आपूर्ति व्यवस्थापनका लागि तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुख सहभागी थिए।

बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन र काम अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दैनिक कार्यप्रगति कार्यकारी निर्देशकसमक्ष पेस गर्न र कामका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा लोडसेडिङ हुने अवस्था नरहेको बताए। विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको उनको भनाइ थियो।

प्राधिकरणले काठमाडौं उपत्यका र आसपास निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी समयसीमासमेत तय गरेको छ।

त्यस्तै, बाढीबाट प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×