प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ११:४५

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकाले किसानको आयआर्जन बढाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रविधिमैत्री तरकारीखेतीलाई प्राथमिकता दिएको छ। परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिकतातर्फ लैजान गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा प्लास्टिक टनेल निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरी ६२ जना किसानलाई अनुदान सहयोग गरेको थियो। मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्लास्टिक टनेल उपयोगी हुने भएकाले किसानको माग र आवश्यकताका आधारमा सहयोग गरिएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले बताइन्।

Advertisement

त्यस्तै, तरकारीखेतीका लागि सिँचाइ सुविधा सहज बनाउन ४ लाख रुपैयाँ बजेटबाट १७ वटा प्लास्टिक पोखरी निर्माण गरिएको देवानले जानकारी दिइन्। वर्षाको पानी सङ्कलन गरेर सुक्खायाममा समेत सिँचाइ गर्न सकिने भएकाले प्लास्टिक पोखरीले किसानलाई बाह्रै महिना तरकारीखेती गर्न सहज भएको गाउँपालिकाको भनाइ छ।

चालु आर्थिक वर्षमा पनि किसान लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै प्लास्टिक टनेल निर्माणका लागि ५ लाख र प्लास्टिक पोखरीका लागि ५ लाख गरी १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट थप किसानलाई आधुनिक तथा प्रविधिमैत्री तरकारीखेतीमा जोड्ने कार्यक्रम सञ्चालन गरिने कृषि विकास शाखाले जनाएको छ। कृषि क्षेत्रमा विनियोजित बजेट वास्तविक रूपमा मेहनत गर्ने किसानसम्म पुर्‍याउन अनुगमन तथा कार्यान्वयनमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ। किसानको व्यावसायिक योजनाका आधारमा मात्र अनुदान वितरण गर्ने गरिएको छ।

अनुदानको दुरुपयोग रोक्न प्लास्टिक टनेलका लागि आवश्यक बाँसको संरचना वा घर तथा प्लास्टिक पोखरीका लागि खाल्डो किसान आफैँले तयार गरेपछि मात्र अनुदान रकम उपलब्ध गराउने गरिएको शाखा प्रमुख देवानले बताइन्। किसानको श्रम र लगानीसमेत जोडिने भएकाले कार्यक्रम थप प्रभावकारी र दिगो हुने गाउँपालिकाको अपेक्षा छ।

गाउँपालिकाबाट अनुदान, प्राविधिक परामर्श र सिँचाइ पूर्वाधारमा सहयोग पाएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन्। हतुवागढी–६ का किसान जगत राईले प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्री गर्न सहज भएको बताए।

किसानलाई तरकारीखेतीमा गाउँपालिकाले दिएको सहयोग प्रभावकारी रहेको भन्दै राईले यसले युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्दै स्वदेशमै स्वरोजगार बन्नसमेत सहयोग पुग्ने बताए। गाउँपालिकालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउँदै स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

परम्परागत शैलीको खेतीमा धेरै श्रम र समय खर्चिए पनि अपेक्षित प्रतिफल नआउने भएकाले आधुनिक प्रविधिमा आधारित व्यावसायिक तरकारीखेतीमा जोड दिइएको अध्यक्ष राईले बताए। आगामी दिनमा किसानको आवश्यकता र बजारको मागअनुसार अनुदान, प्राविधिक तालिम, बीउबिजन तथा आधुनिक कृषि औजार वितरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने गाउँपालिकाको योजना छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×