
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ । ८६ वर्षीय शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएका थिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए ।
काठमाडौं विश्वविद्यालय स्थापनाको क्रममा सक्रिय भूमिका निर्वाह गरेका शर्मा विश्वविद्यालयका पहिलो उपकुलपति बने । उनले सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष उपकुलपतिको जिम्मेवारी सम्हाले । निधनका बेला उनी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए । शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए ।

























