पक्राउ परेकाहरु ।झापा । झापाको मेचीनगरमा दुई वर्षअघि बेपत्ता भएका एक व्यक्तिको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरेर शव गाडेको दुई वर्षपछि प्रहरीले उत्खनन् गरेर मानव कंकाल निकालेको छ ।
अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धानका क्रममा प्रहरीले जेसीबी लगाएर उत्खनन् गर्दै बंगुर फार्मभित्रबाट मानव कंकाल बरामद गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । म्याग्दी घर भई हाल झापाको मेचीनगर नगरपालिका–१० बस्ने ४५ वर्षीय राम भनिने गुप्तबहादुर सिंह र भारतको अलीपुरद्वार वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरिएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए । उनी लामो समयसम्म सम्पर्कविहीन भएपछि श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।
निवेदनका आधारमा प्रहरीले बजगाईंको खोजी गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका साथी राम भनिने गुप्तबहादुर सिंह शंकित देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो ।
सोधपुछका क्रममा सिंहले खुलाएको र देखाएको स्थानका आधारमा प्रहरीले मेचीनगर–७ भान्साखोला (गैरीगाउँ)स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको सिंहले सञ्चालन गरेको बंगुर फार्ममा उत्खनन् गरेको हो । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसमेतको रोहबरमा जेसीबी प्रयोग गरी बुधबार बंगुर फार्मभित्र उत्खनन् गर्दा मानव आकृतिको कंकाल फेला परेको डीएसपी अवाले बताए । कंकाल भेटिएपछि प्रहरीले त्यसलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
प्रहरीले फेला परेको कंकाल बेपत्ता दिलनाथ बजगाईंकै हो वा होइन भन्ने विषयमा यकिन गर्न शव परीक्षणपछि नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाएको छ । यद्यपि, शंकित व्यक्तिले देखाएको स्थानमा उत्खनन् गर्दा मानव कंकाल फेला परेपछि हत्या गरेर बजगाईंको शव गाडिएको निष्कर्षमा प्रहरी पुगेको हो । अनुसन्धानबाट पुष्टि हुन भने बाँकी छ ।
प्रहरीका अनुसार परीक्षणबाट उक्त कंकाल बजगाईंकै रहेको पुष्टि भएमा घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धकसँगै कर्तव्य ज्यान मुद्दा चलाइने छ । प्रारम्भिक अनुसन्धानबाट दुई वर्षअघि नै हत्या गरेर बजगाईंको शव गाडिएको यकिन भएको प्रहरी स्रोतले बतायो ।
झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बरामद कंकालको पहिचान र घटनाको वास्तविक कारण भने वैज्ञानिक परीक्षण तथा थप अनुसन्धानपछि मात्रै यकिन हुने जानकारी दिइन् । ‘घटना के हो भनेर अहिले नै सबै भन्न सक्ने अवस्था छैन । मानव कंकाल फेला परेको छ । दुई जना व्यक्तिहरु पक्राउ परेका छन् । वास्तविक कुरा विस्तृत अनुसन्धानपछि मात्रै यकिन हुन्छ,’ उनले भनिन् ।
प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरको अनुसन्धानका क्रममा सिंहसँगै सञ्जय लामालाई पनि पक्राउ गरेको हो । बजगाईं बेपत्ता भएको करिब दुई वर्षपछि मानव कंकाल भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ ।
कंकाल बजगाईंकै भएको पुष्टि भएमा उनको मृत्यु कसरी भयो, घटनामा को–को संलग्न थिए र शव लुकाउन तथा गाड्नमा अन्य व्यक्तिको समेत संलग्नता थियो कि थिएन भन्ने विषयमा थप अनुसन्धान हुने एसपी खड्काले बताइन् । तर, दुई वर्षपछि कंकाल भेटिएको भनिएका बजगाईं तथा पक्राउ परेका सिंह र लामाबीच कसरी चिनजान भयो एवं झापामा उनीहरु के काम गर्थे भन्ने प्रहरीले सार्वजनिक गरेको छैन । सबै विषय विस्तृत अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी एसपी खड्काले दिइन् ।

























