
भारी वर्षाको जोखिमपछि खोटाङमा राति सवारी आवागमन बन्द
विराटनगर । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ।
प्रशासनले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी सञ्चालन नगर्न र नगराउन निर्देशन दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार असोज ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा प्रशासनको निर्देशनविपरीत सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम हुनसक्ने भएकाले प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन तथा डुबान हुनसक्ने स्थानमा विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।
प्रशासनले अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न तथा जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि भनिएको छ ।
यसैबीच, भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै खोटाङका दशवटै स्थानीय तहका शैक्षिक संस्थाले बिदा दिएका छन् ।
बेमौसममा सुरु भएको भारी वर्षाका कारण जिल्लाका किसानसमेत चिन्तित बनेका छन् । पाक्न लागेको अन्नबालीमा वर्षाले क्षति पुर्याउने सम्भावना बढेपछि किसान चिन्तित भएका हुन् ।

























