
काठमाडौं । बैंकिङ कसुरका १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा, चम्पादेवी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका ४८ वर्षीय शेरबहादुर मगर छन्।
मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मगरविरुद्ध बैंकिङ कसुर मुद्दामा अदालतले १ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १०० रुपैयाँ जरिवानाको फैसला गरेको छ। जिल्ला अदालत काठमाडौं, भक्तपुर र उच्च अदालत पाटनबाट मगरविरुद्ध कैदको फैसला भएको कार्कीले बताए।
मगरविरुद्ध काठमाडौं र ललितपुरमा ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो बराबरको बैंकिङ कसुरका जाहेरी दर्ता छन्। प्रहरी वृत्त बानेश्वर, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त मालिगाउँ, प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला अदालत काठमाडौंमा गरी १२ वटा मुद्दा विचाराधीन रहेको कार्कीले बताए।
मगरलाई प्रहरीले बिहीबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

























