मौसम खुलेपछि मात्रै धान काट्न किसानलाई आग्रह

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार १४:४१

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ। लगातारको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम रहेकाले विभागले मौसमको अवस्था हेरेर मात्र धान काट्ने योजना बनाउन सुझाव दिएको हो।

विभागका मौसमविद् रोजन लामिछानेले प्रतिकूल मौसममा हतार गरेर धान काट्दा बालीसँगै जनधनको समेत क्षति हुनसक्ने बताए। उनका अनुसार मौसम खुलेपछि मात्रै धान काट्ने काम अघि बढाउनु उपयुक्त हुन्छ।

Advertisement

पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पश्चिमी भूभागमा भने आगामी दिनमा समेत वर्षाको प्रभाव रहने भएकाले सावधानी आवश्यक रहेको लामिछानेले बताए। ‘किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला। मौसमको अवस्था बुझेर मात्र मौसम खुलेपछि धान काट्ने योजना बनाउनुहोला,’ उनले भने।

पश्चिमी क्षेत्रमा पछिल्ला तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेकाले थप वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ। जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम अझ बढी हुनसक्ने भएकाले त्यस्ता स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन आग्रह गरिएको छ।

नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई पनि जलसतह बढ्न सक्ने भएकाले थप सतर्क रहन विभागले अनुरोध गरेको छ। स्थानीय प्रशासन तथा प्रहरीले गर्ने माइकिङ र साइरनलाई बेवास्ता नगर्नसमेत आग्रह गरिएको छ। विभागले मौसम तथा विपद्सम्बन्धी पछिल्लो सूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गर्दै आवश्यक जानकारी वा जिज्ञासाका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×