सोह्र श्राद्ध सुरु, पितृलाई तर्पण र पिण्ड दान गरिँदै

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०६:४३

काठमाडौं । वैदिक सनातन हिन्दु परम्पराअनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्गअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविद्हरूका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्ने हुन्छ ।

Advertisement

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत  पितृलाई सम्झेर तर्पण, सिदादान तथा पिण्ड दान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । यस अवधिलाई पितृ पक्ष, अपर पक्ष वा प्रेत पक्षसमेत भन्ने गरिन्छ।

वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व, यज्ञ तथा शुभ कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृ पक्षमा श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्न कालमा नै गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्नुपर्ने उनको भनाइ छ।

कुनै कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रले वैकल्पिक व्यवस्था पनि गरेको धर्मशास्त्रविद्हरू बताउँछन् । आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन र त्यसमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको बताइएको छ।

सोह्र श्राद्ध गर्न नसक्ने अवस्थामा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्पसमेत शास्त्रमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ। यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहेको छ ।

पितृ पक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । यस वर्ष गत जेठमा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँ पर्वसमेत केही पछि सरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×