उत्पादन लागत घटाउन र प्रतिस्पर्धी क्षमता बढाउन उद्योग संगठन मोरङको माग

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार २०:२१
उत्पादन लागत घटाउन र प्रतिस्पर्धी क्षमता बढाउन उद्योग संगठन मोरङको सरकारसँग माग

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रको उत्पादन लागत घटाउँदै उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहलाई भेटी औद्योगिक क्षेत्रका प्रमुख समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको हो ।

भेटघाटका क्रममा सुनसरी–मोरङ औद्योगिक कोरिडोरको पूर्वाधार विकास, विद्युत् आपूर्ति, निर्यात प्रवर्द्धन र नीतिगत सुधारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । सुनसरी–मोरङ औद्योगिक कोरिडोरको पूर्वाधार, विद्युत् आपूर्ति, निर्यात, उत्पादन लागत तथा उद्योगको प्रतिस्पर्धात्मक क्षमतासँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरियो ।

Advertisement

संगठनले औद्योगिक प्रयोजनमा खपत हुने विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर पुनरावलोकन गरी हटाउन माग गरेको छ । विद्युत् उद्योगको उत्पादन प्रक्रियाको अनिवार्य आधार भएकाले त्यसमा थप कर लाग्दा उत्पादन लागत बढ्ने संगठनको तर्क छ । यसको असर विशेषगरी निर्यातमुखी, साना तथा मझौला, खाद्य र औषधि उद्योगमा पर्ने संगठनले जनाएको छ ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति पनि उद्योगीका लागि प्रमुख समस्या बनेको छ । सुख्खा याममा हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा पटक–पटकको विद्युत् विच्छेदका कारण उत्पादन प्रभावित हुँदै आएको भन्दै संगठनले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

सो अवसरमा उद्योगीले भारतको व्यापार नीतिबाट नेपाली उद्योगमा पर्न सक्ने प्रभावबारे समेत सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले नेपाली जुटजन्य वस्तुमा आगामी अक्टोबरदेखि हालको तुलनामा चार गुणासम्म बढी प्रतिडम्पिङ शुल्क लगाउने विषयमा अनुसन्धान गरिरहेको भन्दै संगठनले त्यसलाई रोक्न कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

त्यस्तै, भारतले कच्चा तथा प्रशोधित खाने तेलको आयातमा भन्सार महसुल घटाएपछि नेपालबाट निर्यात हुँदै आएको प्रशोधित तेलमा पर्न सक्ने असरप्रति पनि संगठनले चिन्ता व्यक्त गरेको छ । नेपाली तेल उद्योगमा भएको लगानी, रोजगारी र निर्यातलाई संरक्षण गर्न सरकारले वैकल्पिक नीतिगत व्यवस्था गर्नुपर्ने उद्योगीको माग छ ।

यसैगरी, सुनसरीको अमडुवामा प्रस्तावित विशेष आर्थिक क्षेत्र निर्माणको प्रक्रिया शीघ्र अघि बढाउन पनि संगठनले आग्रह गरेको छ । औद्योगिक पूर्वाधार विस्तार, लगानी आकर्षण र निर्यात प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र महत्त्वपूर्ण हुने भएकाले निर्माण प्रक्रिया थप लम्ब्याउन नहुने संगठनको धारणा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×