सम्पर्कविहीन नौ प्रहरीलाई अन्तिम मौका, सात दिनभित्र हाजिर हुन निर्देशन

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ०६:४२

काठमाडौं । लामो समयदेखि कार्यालयको सम्पर्कमा नआएका नौ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन अन्तिमपटक निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालय, कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन भनेको हो । उनीहरूलाई गैरहाजिर हुनुको चित्तबुझ्दो र सन्तोषजनक कारणसहितको स्पष्टीकरणसमेत पेस गर्न भनिएको छ ।

Advertisement

कार्यालयका अनुसार गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूको खोजतलास गरिएको थियो । प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिमको प्रक्रिया पूरा गरी सम्बन्धित कार्यालयमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सामूहिक रूपमा सार्वजनिक सूचना जारी गरिएको हो ।

सूचनामा तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने स्पष्ट गरिएको छ । गैरहाजिरीलाई नियमावलीको नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुर मानी नियम १०९ को देहाय (ख) (१०) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने महाशाखाले जनाएको छ ।

नियमावलीको अनुसूची १४ को भाग ४ को प्रयोजनका लागि यो सूचना गैरहाजिर प्रहरी कर्मचारीलाई उपलब्ध गराइएको अन्तिम सफाइको मौका भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सूचनामा उल्लेख भएअनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी नायब निरीक्षक शुक्रबहादुर महतो, जिल्ला प्रहरी कार्यालय सुनसरीको उजुरी छानबिन शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक खर्गबहादुर गुरुङ, सोलुखुम्बुको प्रहरी चौकी खुम्जुङमा कार्यरत प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई र स्याङ्जाको प्रहरी चौकी विरुवाअर्चलेमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश नेपाली गैरहाजिर छन् ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयअन्तर्गत भौतिक पूर्वाधार महाशाखा प्राविधिक गुल्म नक्सालका प्राविधिक प्रहरी जवान मोहन भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयकी प्रहरी जवान कल्पना रानामगर, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी जवान राजेन्द्र विश्वकर्मा, बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी जवान सुमन चौधरी र कपिलवस्तुको प्रहरी चौकी फदवामेचकुरीका प्रहरी जवान टोपलाल चौधरी पनि कार्यालयमा गैरहाजिर रहेको सूचनामा जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयसीमाभित्र उपस्थित भई स्पष्टीकरण नदिएमा उनीहरूमाथि सेवाबाट हटाउने प्रक्रियासमेत अघि बढ्ने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×