
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुन जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। पक्राउ परेका शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका हुन्।
प्रहरीका अनुसार आइतबार राति निज शौकत अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शंका लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो। पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले बताए।

























