
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक नेपाली युवकलाई दशगजाबाट तानेर भारततर्फ लग्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
विराटनगर महानगरपालिका-२ का २८ वर्षीय अनुज कामतलाई सीमावर्ती क्षेत्र दरैयामा एसएसबीको टोलीले शनिबार कुटपिट गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका कामतको दशगजामा एसएसबीका जवानसँग विवाद भएको थियो। विवादका क्रममा कामतले एसएसबीका जवानमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा जवानलाई लागेपछि उनी नेपालतर्फ भागेर आएका थिए।
दशगजा पार गरेर नेपालतर्फ आइसकेका कामतलाई एसएसबीका जवानले पछ्याउँदै समातेका थिए। त्यसपछि उनलाई तानेर पुनः दशगजातर्फ लगिएको र लाठीले कुटपिट गर्दै भारततर्फ लगेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसमेत उपस्थित थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा नेपालतर्फका सुरक्षाकर्मीले सुरुमा कामतलाई रोक्न खोजेको देखिए पनि एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि भने उनीहरूले हस्तक्षेप गरेको देखिँदैन। घटनास्थलमा भेला भएका केही व्यक्तिले भाग्न खोजेका कामतलाई समातेर एसएसबीलाई बुझाएको दृश्यसमेत भिडियोमा देखिन्छ।
एसएसबीको टोलीले नियन्त्रणमा लिएर केही समय लाठीले कुटपिट गरेपछि कामतलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो। इलाका प्रहरी कार्यालय रानीले कामतलाई एक दिन नियन्त्रणमा राखेर आइतबार आफन्तको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कामत लागुऔषध प्रयोगकर्ता हुन्।
एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा नरहेको प्रहरीले जनाएको छ। आइतबार श्रीमतीको रोहबरमा कामतलाई घर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।



















