
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएको घटनाबारे आयोगले उनलाई सोधपुछका लागि बोलाएको हो।
आइतबार मध्यराति एसपी खड्काकै नेतृत्वमा गएको प्रहरी टोलीले राणालाई शयनकक्षबाटै नियन्त्रणमा लिएको थियो। आयोगसमक्ष बयान दिने क्रममा एसएसपी खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्।
आयोग स्रोतका अनुसार खड्कासँग प्रारम्भिक चरणको बयान लिइएको हो। आयोगमा कार्यरत उपसचिवस्तरकी अनुसन्धान अधिकृतले उनीसँग बयान लिएकी थिइन्। बयानपछि खड्का आयोगबाट बाहिरिएका छन्। घटनाबारे आयोगको अनुसन्धान भने जारी रहेको स्रोतले जनाएको छ।
राणालाई शनिबार रातिदेखि आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा राखिएको थियो। पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई भने राणासँग भेट गर्न दिइएको थिएन।
आयोग स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु तथा आयोगको टोली अनुगमनका लागि पुग्दा सम्बन्धित व्यक्तिलाई भेट्न नदिनु गम्भीर विषय भएकाले घटनाबारे अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा आवश्यकताअनुसार अन्य व्यक्ति तथा सम्बन्धित निकायका अधिकारीसँग पनि सोधपुछ गर्न सकिने आयोग स्रोतले जनाएको छ।

























