
ललितपुर । यस वर्षको ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ अग्रज गायिका मीरा राणालाई प्रदान गरिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-५ स्थित सरु संगीत घरले राणालाई २५ हजार ५ सय ५ रुपैयाँ नगदसहित सम्मान गरेको हो।
ललितपुरको टीकाथलीमा आयोजित विशेष समारोहमा अग्रज संगीतकार सीके रसाइली, गायक तथा संगीतकार कोमल निरौलालगायतले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र र पुरस्कार प्रदान गरे। राणाले नेपाली आधुनिक गीत–संगीत क्षेत्रमा करिब छ दशकदेखि योगदान दिँदै आएकी छन्। उनले हालसम्म एक हजार ६ सयभन्दा बढी गीत गाइसकेकी छन्।
संगीतकार कोमल निरौलाको संयोजकत्वमा गायक तथा संगीतकार सूर्य थुलुङ, गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्य–सचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको थियो। स्वदेश तथा विदेशमा रहेर गीत–संगीत क्षेत्रमा योगदान गरेका ४० वर्ष उमेर पूरा भएका महिलालाई यो पुरस्कार प्रदान गर्ने गरिएको सदस्य सचिव डेनी निरौलाले जानकारी दिए। गत वर्षको पुरस्कार चर्चित लोकगायिका कविता आलेलाई प्रदान गरिएको थियो।
निरौला परिवारले पुरस्कार स्थापना गरेको हो। गायक तथा संगीतकार कोमल निरौलाकी पत्नी तथा गायक–संगीतकार डेनी निरौला, गायिका झुमा निरौला र भीषण निरौलाकी आमा स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो। पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको छ।
सरस्वती निरौलाको स्मृतिमा उनका पति कोमल निरौला, इन्दिरा निरौला, छोरा डेनी निरौला, सविता नेपाल निरौला, भीषण निरौला, सिर्जना अधिकारी, छोरी झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना गरिएको हो।
सरु संगीत घरको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा क्यान्सरपीडित लोकगायिका कोपिला गौतमलाई पनि १५ हजार १ सय १५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। संगीतघरका प्रशिक्षार्थी ध्रुव थापालगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।



















