
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर सहकार्य र पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।
मोरङ उद्योग व्यापार संघले महासंघको अध्यक्ष बनेपछि पहिलो पटक विराटनगर आएका श्रेष्ठलाई स्वागत गर्दै आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष श्रेष्ठ समस्या समाधानका लागि सरकारसँग निरन्तर सहकार्य र पैरवी गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भारतले कच्चा सोयाबिन तथा पाम आयलको आयातमा भन्सार महसुल घटाएपछि नेपालको तेल उद्योग तथा निर्यातमा गम्भीर असर पर्ने अवस्था देखिएको बताए ।
नेपाली उद्योगको संरक्षणका लागि सरकारले तत्काल भन्सार दर समायोजन गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, व्यवसायी–व्यवसायीबीचको विश्वासको संकट समाधान गर्न उधारो संरक्षणसम्बन्धी कानुन शीघ्र जारी गर्नुपर्ने, श्रम सम्झौता भएका मुलुकसँग ‘फ्री ट्रेड एग्रिमेन्ट’ (एफटीए) अघि बढाउनुपर्ने तथा भन्सार र राजस्व नीति समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव श्रेष्ठले दिए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले निजी क्षेत्रका समस्या समाधानका लागि महासंघमार्फत सरकारसमक्ष पहल गर्न आग्रह गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठीले बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) व्यवस्था आवश्यक रहेको बताए । पूर्वअध्यक्ष एवं नेउवा महासंघका केन्द्रीय सदस्य नवीन रिजालले एफटीए, निजी क्षेत्र, कर्मचारीतन्त्र र सरकारबीच समन्वय तथा जोगबनी–किमाथांका कोरिडोर र सुरुङ मार्गजस्ता रणनीतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव दिए ।
महासंघ अध्यक्ष श्रेष्ठले वर्तमान सरकारले सुधारका केही कदम अघि बढाएको उल्लेख गर्दै निजी क्षेत्रसँग प्रत्यक्ष संवाद र समन्वयमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । छलफलबाट प्राप्त व्यावहारिक तथा नीतिगत सुझावलाई उच्च प्राथमिकताका साथ सरकारसमक्ष प्रस्तुत गरी कार्यान्वयनका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

























