
विराटनगर । नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशमा लागुऔषधको ओसारपसार र कारोबार हुने क्रम बढ्दो देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशभर ३ हजार ८ सयभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने हजारौँ व्यक्ति पक्राउ परेका छन् ।
प्रदेश प्रहरीको तथ्यांकअनुसार झापा, मोरङ, सुनसरी र उदयपुरका सीमावर्ती क्षेत्रबाट बढी मात्रामा लागुऔषधको कारोबार हुने गरेको छ । खुला सीमा र दुवैतर्फ जोडिएका बस्तीको फाइदा उठाउँदै लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीले मुख्य नाकामा सुरक्षा कडाइ गरे पनि खुला सीमाका कारण अन्य क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न कठिन हुने गरेको छ । यही अवस्थाको फाइदा कारोबारी र प्रयोगकर्ताले उठाउने गरेको प्रहरीको भनाइ छ ।
मोरङमा मात्रै भारतसँग ६३ किलोमिटर खुला सीमा छ । दुवैतर्फ जोडिएका बस्तीलाई समेत लागुऔषध कारोबारीले प्रयोग गर्ने प्रहरीको भनाइ छ । लागुऔषध कारोबार र प्रयोगमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती बढी संलग्न रहेको पाइएको छ ।

पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहै, कमजोर आर्थिक अवस्था र छिटो पैसा कमाउने चाहनालगायत कारणले लागुऔषध कारोबार तथा प्रयोग बढेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कतिपय व्यक्ति कारोबारमा मात्र संलग्न हुने गरेका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई प्रयोग गर्नसमेत बोकेर ल्याउने गरेको पाइएको छ ।
कोशी प्रदेशमा झापाको काँकरभिट्टा, सुनसरीको भन्टाबारी तथा मोरङको जोगबनी र रंगेली नाकालगायत आसपासका क्षेत्रमा लागुऔषधको कारोबार हुने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय कोशी प्रदेशबाट भारततर्फ गाँजा तस्करी हुने क्रमसमेत बढेको छ । प्रहरीले झापा, सुनसरी र मोरङका मुख्य नाकाबाहेक अन्य नाकाबाट तस्करी हुँदै गरेको अवस्थामा दैनिकजसो विभिन्न परिमाणमा गाँजा बरामद गर्दै आएको छ ।
तीन वर्षमा हजारौँ पक्राउ
कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३ सय ९३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ती मुद्दामा २ हजार ७ जना पक्राउ परेका छन् । सबैभन्दा बढी सुनसरीमा ४ सय ७४ मुद्दा दर्ता हुँदा ७ सय ६ जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा १ हजार ४ सय ३७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए भने २ हजार २ सय ७६ जना पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुँदा १ हजार ५ सय ९० जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रदेशका झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी मुद्दा दर्ता हुने, व्यक्ति पक्राउ पर्ने तथा लागुऔषध बरामद हुने गरेको छ ।
लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने ‘आइस’सहित चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्सजस्ता लागुऔषध बढी कारोबार हुने गरेको प्रहरीले जनाएको छ । ‘आइस’ १०/१२ वर्षअघि एकपटक विराटनगरबाट बरामद भए पनि त्यसयता नभेटिएको प्रहरीको भनाइ छ ।

गाँजा बरामद बढ्दो
पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधसम्बन्धी मुद्दाको संख्या घटबढ भए पनि बरामद हुने लागुऔषधको परिमाणमा वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशभर २७ हजार ६ सय ९३ किलो ५ सय ७० ग्राम ३८ मिलिग्राम गाँजा, १ सय ४५ ग्राम १ सय ४० मिलिग्राम चरेस, १० किलो ३ सय ८७ ग्राम ५ सय ३१ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल ७ लाख ४४ हजार ४ सय ५७ थान, मनोद्विपक सुई ३ हजार ९ सय १९ एम्पुल र अन्य विभिन्न मनोद्विपक औषधि ४० थान बरामद भएको छ ।
त्यस वर्ष सुनसरीमा १७ हजार १ सय ६३ किलो ९ सय ७४ ग्राम गाँजा, १ सय ३५ ग्राम १ सय ४० मिलिग्राम चरेस, २ किलो ९ सय ३९ ग्राम ब्राउन सुगर र विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल ३ लाख ३१ हजार ९ सय १७ थान बरामद भएको थियो ।
मोरङमा ५ हजार ८ सय २३ किलो गाँजा, १० ग्राम चरेस, ३ किलो ९ सय ३९ ग्राम ब्राउन सुगर र विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल १ लाख ५४ हजार ९ सय ६१ थान बरामद भएको थियो । झापामा ६ किलो गाँजा, ३ किलो ९ सय ७२ ग्राम ७ सय ३६ मिलिग्राम ब्राउन सुगर र विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल २ लाख ३९ हजार ४४ थान बरामद भएको थियो । उदयपुरबाट १ हजार २२ किलो ३ सय ९५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर २६ हजार ७ सय ५ किलो ५ सय ३८ ग्राम ९ सय ७ मिलिग्राम गाँजा, ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस, १५ ग्राम ७ सय ७० मिलिग्राम अफिम, ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर र विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल ६ लाख १५ हजार ७९ थान बरामद भएको थियो ।
त्यस वर्ष सुनसरीमा १२ हजार ३ सय ७५ किलो ९ सय २९ ग्राम ८ सय ४० मिलिग्राम गाँजा, २ ग्राम २८ मिलिग्राम चरेस, ७ सय २८ ग्राम ५ सय ३९ मिलिग्राम ब्राउन सुगर र ४ लाख २८ हजार ६ सय ८३ विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल बरामद भएको थियो । धनकुटामा ४ हजार १ सय ९४ किलो ३ सय ग्राम गाँजा र २९ ग्राम ६ सय ८८ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उदयपुरमा १ हजार ८ सय १० किलो ४ सय ८४ ग्राम ७७ मिलिग्राम गाँजा, १५ ग्राम ५ सय ६१ मिलिग्राम ब्राउन सुगर र २३ हजार २६ क्याप्सुल बरामद भएको थियो ।
मोरङमा ६ हजार ६ सय ५० किलो ४ सय ग्राम गाँजा, १ किलो ७ सय ७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर र ८ हजार ९ सय २३ क्याप्सुल तथा झापामा १ हजार ६ सय ५१ किलो २ सय ८२ ग्राम १ सय ८० मिलिग्राम गाँजा, २ किलो ८ सय ८२ ग्राम ४ सय ६८ मिलिग्राम ब्राउन सुगर र ६३ हजार ५ सय ६० विभिन्न क्याप्सुल बरामद भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभरबाट १० हजार ४ सय २० किलो ४९ ग्राम ४ सय ६१ मिलिग्राम गाँजा, ३ किलो ८ सय ८९ ग्राम ३ सय ४९ मिलिग्राम ब्राउन सुगर, ८६ ग्राम १ सय ८० मिलिग्राम चरेस र ७८ हजार ३ सय ३८ विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका भोजपुर, धनकुटा, खोटाङ, उदयपुर र ताप्लेजुङका पहाडी क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती हुने गरेको प्रहरीको भनाइ छ ।
त्यस वर्ष सुनसरीमा ४ हजार ९ सय ६८ किलो ३ सय ३२ ग्राम ३ सय १० मिलिग्राम गाँजा, ७ सय ४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ५ सय ३ क्याप्सुल बरामद भएको थियो । मोरङमा ३ हजार ५ सय ९० किलो ९ सय ८५ ग्राम ५१ मिलिग्राम गाँजा, २ किलो १ सय ७४ ग्राम १ सय ९५ मिलिग्राम ब्राउन सुगर र २ हजार ७ सय २३ क्याप्सुल बरामद भएको थियो । धनकुटामा १ हजार ५ सय ८१ किलो ७ सय ६५ ग्राम गाँजा र ४ हजार ३ सय ६१ क्याप्सुल बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा ब्राउन सुगरको समस्या
नेपालमा नियन्त्रित लागुऔषधका रूपमा रहेका कतिपय औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुने गरेको प्रहरीको भनाइ छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालका अनुसार लागुऔषध कारोबार र प्रयोगमा १५ देखि २४ वर्ष उमेर समूहका व्यक्ति धेरै भेटिएका छन् । १५ वर्षमुनिका थोरै संख्यामा रहे पनि १५ देखि २० वर्ष उमेर समूहका युवा–युवती धेरै प्रयोगकर्ता भेटिएको उनले बताए । उनीहरूले आफूले प्रयोग गर्नका लागि भारतबाट लागुऔषध ल्याउने गरेको पाइएको उनको भनाइ छ ।
‘२०–३० वर्ष उमेर समूहका व्यक्ति कारोबारमा बढी संलग्न भएको पाइए पनि ४० वर्षमाथिका थोरै संख्या कारोबारी भेटिएका छन् । ५०–६० वर्षका व्यक्तिहरू पनि प्रयोगकर्ता फेला परेका छन्,’ डिआइजी खनालले भने, ‘केही कारोबार मात्रै गर्ने, आफू प्रयोग नगर्ने र केही प्रयोग तथा कारोबार दुवै गर्ने छन् । प्रायः उनीहरू पारिवारिक तनाव, आर्थिक समस्या, छिटो पैसा कमाउने चाहना र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’
तस्करले कोशी नदीको प्रयोग गरी भोजपुरलगायत पहाडी क्षेत्रबाट गाँजा सुनसरी र गाईघाटतर्फ ल्याउने गरेका छन् ।
उनका अनुसार केही व्यक्ति भारतको जोगबनी गएर लागुऔषध सेवन गर्ने र आफूलाई प्रयोग गर्नसमेत बोकेर ल्याउने गरेका छन् । सीमावर्ती जिल्लाको मुख्य समस्या ब्राउन सुगर रहेको उनले बताए । भारतबाट सानोभन्दा सानो पुरियामा लेप लगाएर ब्राउन सुगर आफूले प्रयोग गर्न र बिक्री गर्न ल्याउने गरेको पाइएको खनालले बताए ।
गाँजा खेती र तस्करी
कोशी प्रदेशका भोजपुर, धनकुटा, खोटाङ, उदयपुर र ताप्लेजुङका पहाडी क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती हुने गरेको प्रहरीको भनाइ छ । भौगोलिक विकटता र दुर्गम क्षेत्रमा प्रहरीको नियमित पहुँच नहुने अवस्थाको फाइदा उठाउँदै लुकिछिपी गाँजा खेती हुने गरेको डिआइजी खनालले बताए ।

‘उनीहरूले आँखा छलेर खेती गर्ने गरेका छन् । बाहिर एउटा खेती गर्ने र भित्री रूपमा गाँजा खेती गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘प्रहरी परिचालन गरेर बिरुवा र ठूला बोट पूर्ण रूपमा नष्ट गर्दै आएका छौँ । सहजभन्दा पनि भित्री र रिमोट ठाउँमा उनीहरूले खेती गर्ने गरेका छन् । भौगोलिक विकटताका कारण दैनिक रूपमा प्रहरी त्यहाँ पुग्न सक्दैन । त्यसको फाइदा उठाउँदै खेती हुने गरेको छ ।’ प्रहरीले नियमित रूपमा टोली बनाएर गाँजा खेती नष्ट गर्दै आएको उनले बताए ।
पहाडी क्षेत्रमा उत्पादन गरिएको गाँजा तस्करले भारत लैजाने गरेका छन् । कोशी प्रदेशबाट मात्रै नभई मधेस प्रदेशको बाटोसमेत प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । नेपाल–भारत दुवै देशबीच लागुऔषध ओसारपसार हुने गरेको भन्दै खनालले कोशी प्रदेशबाट भारततर्फ अत्यधिक गाँजा जाने गरेको बताए । भारतबाट विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने गरेको पनि उनले बताए ।
भोजपुर र धनकुटामा उत्पादन भएको गाँजा झापा, मोरङ र सुनसरीबाट दैनिकजसो बरामद हुने गरेको छ ।
भोजपुर र धनकुटामा उत्पादन तथा प्रशोधन गरिएको गाँजा सुकाएर मेसिनमा राखी साना–साना गोलाकार बनाउने र बिक्रीका लागि पठाउने गरिएको प्रहरीको भनाइ छ । त्यहाँबाट उत्पादन भएको गाँजा कोशी प्रदेशका विभिन्न स्थान हुँदै मधेस प्रदेश पुग्ने र त्यहाँबाट भारततर्फ तस्करी हुने गरेको बताइएको छ ।
तस्करले कोशी नदीको प्रयोग गरी भोजपुरलगायत पहाडी क्षेत्रबाट गाँजा सुनसरी र गाईघाटतर्फ ल्याउने गरेका छन् । गाईघाटबाट मधेस प्रदेश हुँदै तथा मोरङ र सुनसरीका नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय तस्करले प्रहरी प्रशासनको आँखा छल्न निजी गाडीमा सरकारी नक्कली नम्बर प्रयोग गर्ने तथा अस्पतालका गाडी र एम्बुलेन्सबाट समेत गाँजा नेपालबाट भारततर्फ लैजाने गरेको पाइएको खनालले बताए । भोजपुर र धनकुटामा उत्पादन भएको गाँजा झापा, मोरङ र सुनसरीबाट दैनिकजसो बरामद हुने गरेको छ ।

सचेतनामूलक अभियानमा जोड
लागुऔषध कारोबार र प्रयोग नियन्त्रण तथा न्यूनीकरणका लागि प्रदेशभर ‘से टु नो ड्रग्स’ अभियान सञ्चालन भइरहेको डिआइजी खनालले बताए । उनका अनुसार जिल्लाअनुसार अभियानको नाम फरक राखेर सञ्चालन भइरहेको छ ।
‘लागुऔषध प्रयोग र कारोबार नियन्त्रण गर्न छुट्टै युनिट बनाएर विशेष प्रहरी परिचालन गरेका छौँ,’ उनले भने, ‘सामाजिक अगुवासँगको समन्वयमा लागुऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम, विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीलाई जानकारी गराउने काम भइरहेको छ । १२ कक्षासम्मका विद्यार्थीलाई सचेतनामूलक कक्षा लिने गरेका छौँ ।’
लागुऔषधमा फस्नेमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थी बढी देखिएकाले विद्यालय तहमा विशेष जोड दिइएको उनले बताए । साना बालबालिकालाई समेत लागुऔषधविरुद्ध सचेत गराउने काम भइरहेको खनालले बताए ।
विद्यालयमा लागुऔषधका साथै ट्राफिक सचेतना, ‘गुड टच, ब्याड टच’, डिजिटल अपराध तथा समाजमा हुनसक्ने आपराधिक गतिविधिबारे पनि जानकारी गराउने गरिएको उनले बताए । यसका लागि विद्यालय सम्पर्क प्रहरी समिति बनाएर ‘विद्यालय प्रहरी सम्पर्क कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

प्रहरी सबै विद्यालयमा पुग्न कठिन हुने भएकाले सम्बन्धित विद्यालयका शिक्षकमार्फत पनि लागुऔषधसहित विभिन्न आपराधिक घटनाबारे विद्यार्थीलाई सचेत गराउने कार्यक्रम सञ्चालनको अन्तिम चरणमा रहेको खनालले बताए । सामुदायिक सेवा प्रहरी मञ्च, विद्यालय प्रहरी सम्पर्क समिति र युवा सर्कलजस्ता साना मञ्च बनाएर विद्यालय, टोल तथा घरघरमा सचेतनाका सन्देश प्रवाह भइरहेको उनको भनाइ छ ।
दुर्गम क्षेत्रका सबै विद्यालयमा प्रहरी पुग्न कठिन हुने भएकाले सामाजिक विषयका शिक्षक वा एक जना शिक्षकलाई सहभागी गराएर ‘टिच द टिचर’ अभियान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
‘छोराछोरी कुलतमा फस्न नदिन अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ । उनीहरू कहाँ जान्छन्, के गर्दै छन् भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ,’ डिआइजी खनालले भने ।
‘यो अभियानमार्फत शिक्षकलाई लागुऔषधका साथै सबै किसिमका आपराधिक गतिविधि वा घटनाबारे जानकारी गराइनेछ । उहाँहरूले आफ्नो विद्यालयमा गएर विद्यार्थीलाई पढाउँदा अझ प्रभावकारी हुने भएकाले यो अभियान चलाउन लागिएको हो,’ खनालले भने, ‘शिक्षकले विद्यालयमा मात्रै नभई घर–टोलमा पनि सचेतनाका कार्यक्रम गर्न सहज हुनेछ ।’ प्रहरीले लागुऔषध ओसारपसार तथा प्रयोगमा संलग्नलाई दैनिक रूपमा पक्राउ गरी कानुनी कारबाही गर्दै आएको छ ।
अभिभावकको भूमिकालाई पनि महत्त्वपूर्ण मानिएको छ । ‘छोराछोरी कुलतमा फस्न नदिन अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ । उनीहरू कहाँ जान्छन्, के गर्दै छन् भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ,’ डिआइजी खनालले भने ।

























