
विराटनगर । विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट प्रहरीले ८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
आज (बिहीबार) दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १–०२–०५० प ६०७६ नम्बरको स्कुटर रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटर चालक मोरङको केराबारी गाउँपालिका–७ का ३३ वर्षीय विश्वास चेम्जोङको साथबाट ८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थ र स्कुटर बरामद गरी चेम्जोङलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























