
रामेछाप । १३ वर्षीया छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन् ।
झापाको गौरादह नगरपालिका–४ घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्दै आएका ४८ वर्षीय नवीन भनिने नवराज भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भण्डारीले आफूले अध्यापन गराउँदै आएकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाउँदै ललाइफकाइ गरेका थिए । सो क्रममा उनले छात्राको संवेदनशील अङ्गमा छुने तथा चिमोट्ने गरेको र फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा पक्राउ परेका शिक्षक भण्डारीविरुद्ध बालयौन दुरुपयोगसम्बन्धी कसुरमा रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















