
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ मा अपांगता भएका व्यक्तिका लागि वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी आठ दिने तालिम सञ्चालन गरिएको छ।
रामसीता माध्यमिक विद्यालयको अपांगता स्रोत शिक्षा भवनमा सञ्चालन भइरहेको तालिममा विभिन्न वडामा गठन गरिएका ‘मिलिजुली समूह’का २२ जना सहभागी छन्। सहभागीमध्ये ५ जना पुरुष छन्। तालिमको सहजीकरण आकृति रानी फुयाँलले गरिरहेकी छन् ।
सहारा नेपाल र ह्याबिट्याट फर ह्युमानिटी नेपालको साझेदारीमा सञ्चालित ‘होम्स नेपाल परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो। परियोजनाका जिल्ला अधिकृत लक्ष्मी भण्डारीका अनुसार तालिममा बचतको महत्त्व, बिमा, पारिवारिक बजेट तथा आम्दानी–खर्चको विश्लेषणलगायत विषयमा व्यवहारिक ज्ञान दिइँदै छ। सहभागीलाई आवश्यकता र चाहनाबीचको फरक छुट्टाउन तथा आर्थिक अवस्थाअनुसार सही वित्तीय निर्णय लिन सक्षम बनाउने तालिमको उद्देश्य रहेको उनको भनाइ छ।
तालिमको अनुगमन गर्दै रामसीता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण मेहता र बर्जु गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मञ्जुकुमारी शर्माले तालिम लक्षित समुदायका लागि उपयोगी र प्रभावकारी रहेको बताए।
विपन्न तथा सीमान्तकृत महिला, युवा र अपांगता भएका व्यक्तिलाई लक्षित गरी सञ्चालित ‘होम्स नेपाल परियोजना’ कोशी र मधेस प्रदेशका पाँच जिल्ला—सुनसरी, उदयपुर, सिरहा, सप्तरी र धनुषाका २० स्थानीय तहमा सञ्चालन भइरहेको छ। परियोजनामार्फत लक्षित समुदायमा वित्तीय साक्षरता अभिवृद्धिसँगै आवास कर्जा, हरित ऊर्जा कर्जा तथा आवास बिमामा पहुँच र प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको जिल्ला अधिकृत भण्डारीको भनाइ छ।
बर्जुमा जारी आठ दिने तालिम आगामी मंगलबार सम्पन्न हुने जनाइएको छ। सुनसरीका बर्जु, हरिनगरा, गढी र कोशी गाउँपालिकामा परियोजना सञ्चालनमा छ।



















