
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक शुक्रबार ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको हो ।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार कारोबार रकम पनि घटेर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँमा सीमित भएको छ ।
शुक्रबार ३५६ वटा स्क्रिप्सको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ६१ वटा स्टक्सको मूल्य बढेको छ भने २०७ वटाको मूल्य घटेको छ । ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।
शुक्रबार एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९–९० को मूल्य सबैभन्दा धेरै १४.२९ प्रतिशतले बढेको छ । एसबीएल डिबेन्चर १०.७५ प्रतिशत २०८९ को मूल्य ८.८० प्रतिशतले बढेको छ ।
यता, सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एसबीएल डिबेन्चर १०.७५ प्रतिशत २०८९ अगाडि रह्यो । उक्त डिबेन्चरको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको १५ करोड, आँखुखोला जलविद्युतको १४ करोड, घलेम्दी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचक घटेका छन् । समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको हो ।



















