
विराटनगर । पुस्तकका पानामा प्रेम गरेका अतीत र साया शनिबार विराटनगरको रंगमञ्चमा आमनेसामने भए । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’का यी पात्रलाई प्रत्यक्ष अभिनयमा हेर्न वीरेन्द्र सभागृह पुगेका दर्शकले पहिलो शोमै उत्साहजनक साथ दिएका छन् ।
कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको ‘समर लभ’ले उपन्यासको लोकप्रियतालाई रंगमञ्चीय प्रस्तुतिमा रूपान्तरण गरेको छ । प्रेम, आकर्षण, प्रतीक्षा, दूरी र बिछोडका भावनालाई कलाकारको अभिनयसँगै प्रकाश, संगीत र दृश्य संयोजनले जीवन्त बनाएको छ ।
विराटनगरमा शनिबार र आइतबार दुई दिन मञ्चन हुने नाटकका लागि छ वटा शो तय गरिएको छ । प्रत्येक दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे दर्शकले नाटक हेर्न पाउनेछन् ।

पहिलो दिनको पहिलो शोमै सभागृहमा युवायुवतीको उल्लेख्य उपस्थिति देखियो । उपन्यास पढेका दर्शकका लागि आफूले मनमा बनाएका पात्रलाई आँखैअगाडि देख्ने अवसर थियो । पुस्तक नपढेका दर्शकका लागि भने प्रेम र सम्बन्धका अनेक मनोभाव बुझ्ने रंगमञ्चीय अनुभव ।
सागर खनाल अतीत शर्मा र बास्ना तिम्सिना साया शाक्यका रूपमा मञ्चमा देखिएका छन् । विनीता घिमिरे, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईंलगायत कलाकारले कथालाई अघि बढाएका छन् । चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् ।

सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको नाटक करिब १ घण्टा ५० मिनेटको छ । निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताए ।
उपन्यासकार सुविन भट्टराईका लागि विराटनगरको मञ्चन विशेष छ । काठमाडौंमा मात्रै केन्द्रित रहेको ‘समर लभ’ पहिलोपटक विराटनगर आइपुगेको उल्लेख गर्दै उनले काठमाडौंमा जस्तै विराटनगरका दर्शकबाट पनि माया पाउने अपेक्षा व्यक्त गरे ।
कान्तिपुर थिएटरको यो छैटौँ प्रस्तुति हो । यसअघि विराटनगरमा मञ्चन गरिएको ‘सेतो धरती’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । त्यसैको निरन्तरतामा ‘समर लभ’ ल्याइएको थिएटरका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए ।
काठमाडौं बाहिरका दर्शकमाझ नेपाली रंगमञ्च विस्तार गर्ने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने तयारी भइरहेको पुरीको भनाइ छ । करिब डेढ दशकअघि प्रकाशित ‘समर लभ’को लोकप्रियता अझै युवा पुस्तामा कायम छ ।

यही परिचित कथालाई रंगमञ्चमा उतार्दा विराटनगरमा देखिएको दर्शकीय उत्साहले पुस्तक र नाटकबीचको सम्बन्धलाई फेरि जोडेको छ । नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ छ । टिकट कान्तिपुर थिएटरको वेबसाइटबाट बुक गर्न सकिने आयोजकले जनाएको छ ।
विराटनगरमा ‘समर लभ’को मञ्चन एउटा उपन्यासको प्रस्तुति मात्रै बनेको छैन । काठमाडौंकेन्द्रित रंगमञ्चलाई मोफसलका दर्शकमाझ पुर्याउने प्रयासको अर्को अध्याय पनि बनेको छ । पहिलो शोको उपस्थितिले विराटनगरका दर्शक नेपाली नाटकसँग जोडिन तयार रहेको देखाउँछ ।





















