
भोजपुर । आधुनिकताको प्रभावसँगै ओझेलमा पर्दै गएको किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुमा करिब १४ लाख रुपैयाँको लागतमा साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।
टेम्केमैयुङ गाउँपालिकाको बजेट, वडा कार्यालयको समन्वय र स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण गरिएको यस साकेवाथानले स्थानीय किराँत समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याएको छ ।
वडाध्यक्ष बालचन्द्र राईका अनुसार गाउँपालिकाले भौतिक पूर्वाधार विकासका साथै सांस्कृतिक पहिचानको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। ‘हामीले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम गर्न साकेवाथान निर्माण गरेका हौँ,’ वडाध्यक्ष राईले भने।
साकेवाथान किराँत समुदायको आस्था र परम्परासँग प्रत्यक्ष जोडिएको छ । यहाँ विशेषगरी कृषि चक्रमा आधारित उँधौली र उभौली पर्वका अवसरमा वर्षमा दुई पटक विशेष पूजाआजाका साथै परम्परागत साकेला नाच प्रदर्शन गरिन्छ ।
पहिले व्यवस्थित पूजा स्थल नहुँदा सांस्कृतिक गतिविधि सञ्चालनमा समस्या हुने गरेकोमा अहिले साकेवाथान निर्माण भएसँगै पूजाआजा र साकेला नाच व्यवस्थित भएको बताइएको छ ।
अभिवृद्धिमा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। सांस्कृतिक अवसरहरूमा विभिन्न उमेर समूहका मानिसहरू एकै ठाउँमा भेला भई परम्पराको अभ्यास गर्ने भएकाले नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति र पहिचानबारे नजिकबाट सिक्ने अवसर पाएका छन् ।
साकेवाथानको निर्माणले छिनामखुमा सांस्कृतिक गतिविधि बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयको भनाइ छ। यस ऐतिहासिक र सांस्कृतिक स्थललाई थप व्यवस्थित गरी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना देखिएको छ ।
वडा कार्यालयले आगामी दिनमा पनि साकेवाथानको संरक्षण, थप पूर्वाधार विकास र प्रचारप्रसारका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

























