१३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु हुँदै

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०९:०७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया आज (मंगलबार) देखि सुरु हुँदैछ ।

संसद् सचिवालयका अनुसार बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सदस्यहरूलाई वितरण गरिनेछ । त्यसैगरी प्रस्तावित राजदूतहरूले पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध र पाँचवटा उजुरी एक–एक जना प्रस्तावित राजदूतलाई तोकेर परेको समितिले जनाएको छ । गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरेको छ ।

त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×