
एजेन्सी । लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा टुंग्याएका छन् । आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले हराउँदा मेसीले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेले। दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेका उनले राष्ट्रिय टोलीबाट आफ्नो गोलसंख्या १२६ पुर्याए । खेलमा उनले निकोलस ओटामेन्डी र निको पाजका गोलका लागि पाससमेत मिलाए। मेसीले पूरा ९० मिनेट मैदानमा बिताए ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा मेसीले यसअघि अगस्टमै गरेका थिए । अन्तिम खेलपछि ब्युनस आयर्सस्थित ८५ हजार दर्शक क्षमताको मोनुमेन्टल रंगशालामा उनको विशेष बिदाइ गरिएको थियो । मेसीको बिदाइका लागि रंगशालामा लेजर लाइट शो, सांगीतिक प्रस्तुति र विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। उनले दर्शकलाई करिब १० मिनेट सम्बोधन गरे । सम्बोधनका क्रममा आफू मैदान छाड्न नचाहेको बताएका मेसी भावुक देखिएका थिए ।
उनको बिदाइमा सहकर्मी खेलाडी पनि भावुक बने । म्यानचेस्टर सिटीका एन्जो फर्नान्डेजसहित केही खेलाडीका आँखामा आँसु देखिएको थियो । खेलअघि राष्ट्रिय गान बज्दा पनि मेसी भावुक देखिएका थिए भने रंगशालातर्फ जाने क्रममा बसमै उनले आँसु पुछिरहेको दृश्य सार्वजनिक भएको थियो ।
खेल सुरु हुनुअघि रंगशालामा आतिसबाजी गरिएको थियो । मैदानमा मेसीको चर्चित १० नम्बर अंकसहितको अर्जेन्टिनाको विशाल जर्सी राखिएको थियो, जसमा स्पेनी भाषामा ‘ग्रासियास’ अर्थात् ‘धन्यवाद’ लेखिएको थियो । अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि मेसीको क्लब फुटबल यात्रा भने जारी रहनेछ । उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन् । उनीसँग सन् २०२८ को सिजनको अन्त्यसम्मको सम्झौता छ ।

























