
काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज (बिहीबार) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ । विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा नियमित आँखा परीक्षण तथा जनचेतनामूलक गतिविधि विस्तार गर्न पनि यस वर्ष जोड दिइएको छ ।
नेपालमा सन् १९८१ मा अन्धोपनको दर शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणले यो दर घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको देखाएको छ । यद्यपि अन्धोपनको दर घट्दै गए पनि आँखासम्बन्धी सबै समस्या समाधान नभएको विज्ञहरूले बताएका छन् ।
नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोष अहिले पनि प्रमुख चुनौतीका रूपमा छन् ।
बढ्दो औसत आयु, नसर्ने रोगको बढ्दो भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेको मिश्रले बताए । नेत्रज्योति संघका अनुसार हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ। त्यस्तै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको संघले जनाएको छ ।
संघले हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसँगै विभिन्न देशका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

























