
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) बिहानदेखि मतदान हुँदैछ । १५औँ महाधिवेशनअन्तर्गत ७ हजार २५५ प्रतिनिधिले पार्टीको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति छान्न मतदान गर्न लागेका हुन् ।
मतपत्र छपाइमा भएको ढिलाइका कारण निर्धारित समयभन्दा एक दिन पछाडि सरेको निर्वाचनका लागि निर्वाचन समितिले आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।
मतदानका लागि काठमाडौंस्थित राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ । प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थागत प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस निर्वाचनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरू चयन हुनेछन् । निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
एक जना प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया केही लामो हुने देखिएको छ । मतदान स्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक प्रतिनिधिलाई मतदान गर्न औसतमा करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।
यसअघि बिहीबारभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो । राति मतदान गराउनुभन्दा बिहानै प्रक्रिया सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित निर्वाचन समितिले नयाँ समयतालिका तय गरेको थियो ।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ । सबै पदको मतगणना पूरा भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । यद्यपि, मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक हुने समय भने निश्चित भइसकेको छैन ।
मतदानले कांग्रेसको आगामी नेतृत्वको दिशा तय गर्नेछ । पार्टीको आन्तरिक शक्ति सन्तुलन, विभिन्न समूहको प्रभाव र नेतृत्वका आकांक्षीहरूको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।



















