
जनकपुरधाम । पुरानो रिसइबीलाई लिएर भएको विवाद उग्र बन्दा धनुषाको जनकपुरधाममा एक युवकको हत्या भएको छ । चक्कु प्रहारबाट २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ ।
अर्का युवक गम्भीर घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकमा चक्कु प्रहार हुँदा स्थानीय २५ वर्षीय इम्तियाज राइन घाइते भएका छन् ।
प्रहरीका अनुसार पुरानो विवादलाई लिएर भएको झगडाका क्रममा २२ वर्षीय मोहम्मद इर्साद खानले आमिन र इम्तियाजमाथि चक्कु प्रहार गरेका थिए । दुवैको छाती र पेटमा चक्कु लागेपछि उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।
उपचारकै क्रममा बिहीबार साँझ आमिनको मृत्यु भएको धनुषा प्रहरीका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गम्भीर घाइते इम्तियाजको भने सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोहम्मद इर्साद खानलाई पक्राउ गरेको छ । घटनाको कारण र परिस्थितिका बारेमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी खनालले दिए ।


















