सुन प्रशोधनको गोप्य धन्दा, २२ किलो सुनसहित चार जना पक्राउ

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ०७:०२

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित चपलीमा चिनियाँ नागरिकले भाडामा लिएको घरबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ । सुन ओसारपसार तथा प्रशोधनमा संलग्न रहेको आशंकामा तीन चिनियाँ नागरिक र एक नेपाली महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि चपली क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ठूलो परिमाणमा सुन फेला पारेको हो । प्रहरीका अनुसार चिनियाँ नागरिकहरूले धुलो सुन ल्याएर भाडाको घरमा प्रशोधन गरी ढिक्का बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुनको यकिन परिमाण पनि निकाल्ने काम भइरहेको छ ।

प्रहरीले प्रशोधन गरेर ढिक्का बनाइएको पाँच किलो सुन र बाँकी धुलो सुन बरामद गरिएको जनाएको छ । सुन ल्याउने स्रोत र यसमा संलग्न अन्य व्यक्तिका बारेमा अनुसन्धान जारी छ ।

प्रहरीका अनुसार सुनसँग सम्बन्ध देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरूको विस्तृत परिचय र सुनको स्रोतबारे भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । सुन ओसारपसारमा उनीहरूको भूमिका तथा यसमा संलग्न अन्य व्यक्तिका बारेमा थप विवरण अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ ।

बरामद सुनको परिमाण र बिहीबारको बजार मूल्यलाई आधार मान्दा यसको मूल्य करिब ५५ करोड रुपैयाँभन्दा बढी पर्छ । नेपालमा बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँ रहेको थियो । २२ किलो सुनलाई करिब एक हजार ८८५ तोला मान्दा यसको मूल्य करिब ५५ करोड २२ लाख ६३ हजार रुपैयाँ हुन आउँछ ।

प्रहरीले सुन बरामद गरिएको घटनाका बारेमा थप जानकारी दिन शुक्रबार दिउँसो १ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ । बरामद सुनको तौल यकिन गर्ने र अन्य शंकास्पद स्थानमा समेत खोजतलास गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×