संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई बर्खास्त गर्ने तयारी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ११:०७
सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

काठमाडौं । संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ ।

छानबिन समितिले दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा गठित छानबिन समितिले अनुसन्धान पूरा गरी बर्खास्तको सिफारिस गरेको हो । समितिको सिफारिसअनुसार आवश्यक कागजात तयार पार्ने काम मन्त्रालयमा भइरहेको स्रोतले जनाएको छ ।

दाहाललाई सेवाबाट बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ । मन्त्रालयमा प्रक्रिया अघि बढेसँगै उनको सेवाको भविष्य मन्त्रिपरिषद्को निर्णयमा निर्भर बन्ने देखिएको छ ।

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको घटना सार्वजनिक भएको थियो । जबरालाई प्रहरीले असोज ११ गते राति काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो ।

उक्त घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि उनीमाथि छानबिन अघि बढाइएको थियो ।

समितिको सिफारिस कार्यान्वयन भए दाहालले सशस्त्र प्रहरी सेवाबाट मात्रै नभई भविष्यमा सरकारी सेवामा समेत प्रवेश गर्न नपाउने अवस्था बन्नेछ । तर, चोलेन्द्रलाई नै भेटेका आधारमा दाहाललाई निलम्बन गरिएको भनेर सरकारको चौतर्फी आलोचना पनि भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×