कांग्रेस सभापतिको मतगणना तत्कालै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १९:२७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना तत्कालै तयारी गरिएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान सकिएलगत्तै राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिनेछ ।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि सुरु भएको मतदान निर्धारित समयमा नसकिएपछि तीन पटकसम्म समय थपिएको छ । सुरुमा दिउँसो ३ बजेसम्मका लागि तय गरिएको मतदान दुई घण्टा थपेर साँझ ५ बजेसम्म पुर्‍याइएको थियो । त्यसपछि पुनः दुई घण्टा थपेर साँझ ७ बजेसम्म समय निर्धारण गरिएको थियो ।

साँझ ७ बजेको समय घर्किए पनि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधिले मतदान गर्न बाँकी रहेको जनाइएको छ । कटुवालले निर्धारित समय सकिए पनि लाइनमा लागेका सबै प्रतिनिधिले मतदान गर्न पाउने बताएका छन् ।

हालसम्म गण्डकी प्रदेशको मात्रै मतदान सकिएको छ । बाँकी छ प्रदेश र जनसम्पर्क समितिका प्रतिनिधिहरूको मतदान जारी छ ।

सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् । मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×