बेपत्ता चाँदनी र उनकी आमा मुख्यादेवी राय ।विराटनगर । हातमा छोरीको तस्बिर, आँखाभरि आँसु र मनमा एउटै प्रश्न— ‘मेरी छोरी कहाँ छे, कस्तो अवस्थामा छे ?’ एक वर्षअघि बेपत्ता २४ वर्षीया छोरी चाँदनी रायको खोजीमा भौँतारिएकी मुख्यादेवी राय शुक्रबार नेपाल पत्रकार महासंघ मोरङको कार्यालय पुग्दा उनको अनुहारमा निराशा र पीडा प्रस्ट देखिन्थ्यो । स्थानीय प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयसम्म धाउँदा पनि छोरीको कुनै खबर नपाएपछि उनी न्यायको आशामा सञ्चारकर्मीसामु पुगेकी हुन् ।
मोरङको जहादा गाउँपालिका–३ भातिगञ्जकी मुख्यादेवीको परिवारले छोरी बेपत्ता भएको घटनामा प्रहरीको अनुसन्धानप्रति गम्भीर असन्तुष्टि जनाएको छ । चाँदनी २०८२ साल असोज ८ गतेबाट बेपत्ता भएको मुख्यादेवीको भनाइ छ । उनका अनुसार घटनाका बारेमा जानकारी गराउँदा सुरुमा जाहेरीसमेत दर्ता गर्न आनाकानी गरिएको थियो । पछि जाहेरी दर्ता भयो । तर, प्रहरीले पटकपटक छिट्टै नतिजा दिने आश्वासन दिए पनि एक वर्ष बित्दासमेत चाँदनीको अवस्था पत्ता लाग्न सकेको छैन ।
कक्षा १२ मा अध्ययनरत रहेकै बेला चाँदनीको विवाह सुनसरीको बर्जु गाउँपालिका अमरदहका अजयकुमार रायसँग भएको थियो । अजय दुहबीस्थित एक उद्योगमा काम गर्थे । परिवारका अनुसार विवाह भएको केही समयपछि नै चाँदनीले घरमा मानसिक तथा शारीरिक हिंसा भोग्नुपरेको थियो । श्रीमान् अजयको पारिवारिक नाताभित्रकै एक महिलासँग अनैतिक सम्बन्ध रहेको विषयलाई लिएर घरमा बारम्बार विवाद हुने गरेको पीडित पक्षको दाबी छ ।
विवाद बढ्दै गएपछि गाउँमा पञ्चायतीसमेत बसेको थियो । समाजका भद्रभलादमीको उपस्थितिमा १२ बुँदे निर्णय तयार पारिएको परिवारले जनाएको छ । उक्त निर्णयको १०औँ बुँदामा श्रीमान् र ती महिनाबीचको अनैतिक सम्बन्धका कारण चाँदनीको जीवन जोखिममा रहेको र उनीमाथि कुनै अप्रिय घटना हुन सक्ने आशंका उल्लेख गरिएको परिवारको भनाइ छ । यही पृष्ठभूमिमा चाँदनी बेपत्ता भएपछि परिवारले घटनालाई थप शंकास्पद मानेको छ ।
पञ्चायती बसेपछि पनि चाँदनी घरमै बस्दै आएकी थिइन् । परिवारका अनुसार उनी बेपत्ता हुनुअघि राति १० बजेसम्म घरमै देखिएकी थिइन् । त्यसपछि उनी कसरी र कहाँ गइन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
सबैभन्दा शंकास्पद पक्ष भनेको चाँदनी बेपत्ता भएको १७ दिनसम्म पनि घरका सदस्यले माइती पक्षलाई खबर नगर्नु रहेको परिवारको भनाइ छ । १७औँ दिनमा उनका श्रीमान् रातिको ड्युटीमा गएको समयमा छोरी हराएको जानकारी भोलिपल्ट मात्र छिमेकीमार्फत माइती पक्षले पाएको थियो । घरमै बसिरहेकी महिला अचानक बेपत्ता हुँदा पनि माइतीलाई समयमै जानकारी नदिनुको कारणका बारेमा परिवारले प्रश्न उठाएको छ ।
छोरीको खोजीका लागि परिवारले सुरुमा स्थानीय प्रहरी चौकी र त्यसपछि इलाका प्रहरी कार्यालय दुहबी धाएको थियो । तर, परिवारको आरोपअनुसार त्यहाँ उनीहरूको गुनासो गम्भीरतापूर्वक सुनिएन । सहयोग र सान्त्वना पाउने अपेक्षासहित प्रहरी कार्यालय पुगेका परिवारका सदस्यले उल्टै हप्कीदप्की सहनुपरेको बताएका छन् । प्रहरीका तल्लो तहका कर्मचारीले माथिल्लो अधिकारीसम्म आफ्नो कुरा पुर्याउनसमेत नदिएको उनीहरूको आरोप छ ।
परिवारका अनुसार इलाका प्रहरी कार्यालय दुहबीले छ महिनासम्म जाहेरी दर्ता गर्न मानेन । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी)लाई भेटेर गुहार मागेपछि मात्रै जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानले गति लिने आशा गरेका परिवारलाई त्यसपछिका दिनमा पनि आश्वासनमै सीमित हुनु परेको उनीहरूको गुनासो छ ।
सामाजिक अभियन्ता उत्तम दाहालका अनुसार प्रहरी अधिकारीहरूले पटकपटक पाँचदेखि सात दिनभित्र अनुसन्धानको नतिजा दिने र अनुसन्धान अन्तिम चरणमा पुगेको बताउने गरेका थिए । तर, त्यस्ता आश्वासनले समय बित्दै गए पनि छोरीको अवस्थाका बारेमा बारे कुनै ठोस जानकारी परिवारले प्राप्त गर्न नसकेको दाहालको भनाइ छ ।
चाँदनी बेपत्ता भएको दुई महिनापछि मानवअधिकारवादी संस्था इन्सेकमा उजुरी गरेपछि उनको मोबाइलमा दुईवटा भारतीय सिमकार्ड प्रयोग भइरहेको तथ्य फेला परेको परिवारले जनाएको छ । परिवारका अनुसार ती सिमकार्ड १० महिनाभन्दा बढी समयसम्म सक्रिय रहे पनि प्रहरीले तिनको प्रयोगकर्ता, स्थान वा चाँदनीको अवस्थाका बारेमा कुनै ठोस जानकारी दिन नसकेको दाहालको भनाइ छ ।
मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको तथ्य सार्वजनिक भएपछि छोरीको खोजीमा महत्त्वपूर्ण सुराक मिल्ने आशा गरेको परिवार प्रहरीबाट थप प्रभावकारी अनुसन्धान हुने प्रतीक्षामा रह्यो । तर, इलाका प्रहरी कार्यालय दुहबी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसम्म पुग्दासमेत परिणाम नआएको उनीहरूको गुनासो छ ।
प्रहरी अधिकारी परिवर्तन भएपछि परिवारले फेरि सुरुदेखि आफ्नो पीडा सुनाउनुपर्ने अवस्था आएको बताएको छ । अघिल्लो अधिकारीले के भनेका थिए भन्ने आफूलाई थाहा नभएको जवाफ दिने गरिएको परिवारको आरोप छ । प्रहरी अधिकारीको सरुवा र जिम्मेवारी परिवर्तनसँगै अनुसन्धानको अवस्थाका बारेमा स्पष्ट जानकारी नपाउँदा आफूहरू थप अन्योलमा परेको आमा मुख्यादेवीको गुनासो छ ।
एक वर्षदेखि छोरीको अवस्था केही थाहा नपाउँदा मुख्यादेवीको पीडा झन् गहिरिँदै गएको छ । पत्रकार महासंघ मोरङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनी भक्कानिँदै भनिन्, ‘एक वर्ष भयो, मेरी छोरी हराएको । कहाँ छे, कस्ती छे, थाहा छैन । खोजिदिनुहोस् ।’
छोरीको खोजीमा प्रहरी कार्यालय धाउँदाधाउँदै समय बितेको र कतैबाट पनि चित्तबुझ्दो जवाफ नपाएको उनको गुनासो छ । परिवारले घटनाको संवेदनशीलता, बेपत्ता हुनुअघिको पारिवारिक विवाद, पञ्चायतीको निर्णय र मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न माग गरेको छ ।
प्रहरीको ढिलासुस्ती, अनुसन्धानको प्रगतिबारे स्पष्ट जानकारी नपाउनु र आरोपी पक्षको पहुँच रहेको आशंकाले न्याय पाउने आशा कमजोर बन्दै गएको परिवारको भनाइ छ ।
अन्ततः प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको भन्दै पीडित परिवारले सञ्चारमाध्यम, मानवअधिकारवादी संस्था र सम्बन्धित माथिल्लो निकायसँग सहयोगको अपिल गरेको छ । उनीहरूले चाँदनीको अवस्था पत्ता लगाउन निष्पक्ष, प्रभावकारी र परिणाममुखी अनुसन्धान गर्न तथा घटनामा संलग्न रहेको प्रमाणबाट पुष्टि हुने व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।
२४ वर्षीया चाँदनी कहाँ छिन्, उनीमाथि के भयो र बेपत्ता हुनुको वास्तविक कारण के हो भन्ने प्रश्नको उत्तर अझै अनुत्तरित छ । छोरी फर्किने आशामा दिन गन्दै बसेकी आमाको प्रतीक्षा एक वर्ष पुगिसक्दा पनि सम्बन्धित निकायबाट विश्वसनीय जवाफ आउन सकेको छैन । अब परिवारको एउटै माग छ— चाँदनीको खोजी होस्, घटनाको सत्यतथ्य बाहिर आओस् र दोषीलाई कानुनी दायरामा ल्याइयोस् ।

























