अधिकार र स्रोतबिनाको संघीयता प्रभावकारी हुन सक्दैन : मुख्यमन्त्री यादव

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १२:०७

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई आवश्यक अधिकार, वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै संघीयता प्रभावकारी बन्ने बताएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’लाई सम्बोधन गर्दै उनले प्रदेशहरूबीच सहकार्यका लागि पहिले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रदेशहरूबीच साझेदारी र सहकार्य आवश्यक भए पनि त्यसका लागि प्रदेश सरकारहरू आफैँमा बलियो हुनुपर्ने उनको भनाइ थियो ।

अधिकार र स्रोतसाधनविहीन प्रदेशबाट दिगो सहकार्यको अपेक्षा गर्न नसकिने उल्लेख गर्दै यादवले प्रदेशहरू जिम्मेवारी बहन गर्न तयार रहेको बताए । ‘हामी अधिकार माग्न मात्र आएका होइनौँ, जिम्मेवारी बहन गर्न पनि तयार छौँ,’ उनले भने ।

सम्मेलनमा मधेश प्रदेशका तर्फबाट दुईवटा मस्यौदा दस्तावेज प्रस्तुत गर्दै यादवले अन्तरप्रदेश प्राथमिकताका सहकार्य कार्यक्रम र संघीय सरकारसमक्ष संयुक्त रूपमा उठाउनुपर्ने विषय समेटिएको जानकारी दिए । उनले प्रदेशहरूबीचको सम्बन्धलाई सहयोग माग्ने र दिने सीमित अवधारणाबाट माथि उठाएर साझा विकास र समृद्धिको आधार बनाउनुपर्ने बताए ।

साझा समस्या पहिचान गरी संयुक्त योजना निर्माण, सहलगानी र त्यसबाट प्राप्त हुने लाभको साझेदारीमा जोड दिनुपर्ने उनको धारणा थियो । कृषि र पर्यटनलाई अन्तरप्रदेश सहकार्यको प्रमुख आधार बनाउन सकिने उल्लेख गर्दै यादवले मधेश प्रदेशका केरा, आँप, लिची, अदुवा र बेसारजस्ता कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आफ्नो प्रदेश तयार रहेको बताए ।

पर्यटन प्रवर्द्धनका लागि ‘एक यात्रा अनेक प्रदेश’ अवधारणा अघि बढाउनुपर्ने उनको प्रस्ताव छ । जनकपुरधाम, विवाहपञ्चमी र मिथिला कलालाई कोशी प्रदेशका रामधुनी र वराहक्षेत्र तथा लुम्बिनीसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्न सकिने उनले बताए ।

संघीयता कार्यान्वयन सुरु भएको एक दशक पुग्न लाग्दा पनि प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐनलगायतका विषय टुंगोमा नपुग्दा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको यादवको गुनासो थियो । प्रहरीसम्बन्धी कानुन बने पनि आवश्यक कानुनी व्यवस्था, जनशक्ति र सम्पत्ति हस्तान्तरण नहुँदा मधेश प्रदेशमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन कठिनाइ भइरहेको उनले बताए ।

खुला सीमाका कारण हुने तस्करी र सीमापार अपराध नियन्त्रणमा समेत अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो । ‘संघीय सरकारले तत्काल प्रहरी समायोजन प्रक्रिया टुंग्याउनुपर्छ,’ उनले भने ।

प्रदेश सरकारको प्रशासनिक स्वायत्ततामाथि समेत प्रश्न उठाउँदै यादवले प्रदेशका कार्यालयमा संघीय सरकारले सचिव पठाउने र एउटै कामका लागि संघ तथा प्रदेश दुवैतिर समानान्तर संरचना बनाउने अभ्यास अन्त्य गर्नुपर्ने बताए । उनले नयाँ कार्यालय स्थापना गर्नुभन्दा विद्यमान संघीय कार्यालयहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । प्रदेशलाई अधिकार र स्रोतसाधनसहित जिम्मेवारी दिए मात्रै संघीय शासन प्रणालीको मर्मअनुसार काम गर्न सकिने उनको धारणा थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×