
विराटनगर । ब्राइट भिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोकसेवा आयोगको परीक्षामा योग्यता क्रममा पहिलो स्थान हासिल गर्न सफल भएका छन् । नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरकारी वकिल समूहतर्फ राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदमा छनोट भएका लामिछानेले सरकारी वकिल समूह रोजेका छन् ।
लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार लामिछानेसँगै ब्राइट भिजन ल कलेजका अन्य तीन विद्यार्थी पनि सरकारी सेवामा प्रवेशका लागि सफल भएका छन् । कलेजका निशाना भट्टराई, कृष्मा निरौला र शिवकुमार यादवले समेत आयोगको परीक्षा उत्तीर्ण गरेका हुन् । उनीहरूले न्याय सेवा रोजेको कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले जानकारी दिए ।
कलेजका विद्यार्थीले प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु गौरवको विषय भएको आचार्यले बताए । विशेषगरी लामिछानेले योग्यता क्रममा पहिलो स्थान हासिल गर्नु कलेजका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
आचार्यका अनुसार ब्राइट भिजन ल कलेजबाट कानुन अध्ययन पूरा गरी लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेका करिब तीन दर्जन विद्यार्थी सरकारी सेवामा कार्यरत छन् । तीमध्ये अधिकांश न्याय सेवामा आबद्ध रहेको उनले जानकारी दिए ।
कानुन शिक्षासँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षामा सफल बनाउन कलेजले गर्दै आएको प्रयासको प्रतिफलका रूपमा यस उपलब्धिलाई लिइएको छ । विद्यार्थीको सफलताले कानुन अध्ययनपछि सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थीका लागि सम्भावनाका नयाँ ढोका खोल्ने कलेजको विश्वास छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्राइट भिजन ल कलेज सन् २०१० मा काठमाडौं उपत्यकाबाहिर स्थापना भएको पहिलो कानुन कलेज हो । कलेजमा पाँच वर्षे बीएएलएलबी र दुई वर्षे एलएलएम कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कानुन शिक्षाका क्षेत्रमा स्थापित कलेजका विद्यार्थीले लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा हासिल गरेको सफलताले संस्थाको शैक्षिक उपलब्धिलाई थप उजागर गरेको कलेजका प्रमुख आचार्यले बताए ।

























