
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो तीन महिनामा तीर्थालुको आगमन उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २० हजार ५२२ जनाले मन्दिरमा दर्शन गरेका छन् भने ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको मन्दिर समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार तीन महिनाको अवधिमा असोजमा सबैभन्दा धेरै तीर्थालु मन्दिर पुगेका छन् । साउनमा २ हजार ४६९ जनाले दर्शन गरेकोमा भदौमा यो संख्या बढेर ६ हजार १२३ पुगेको थियो । असोजमा भने ११ हजार ९३० जनाले पाथीभराको दर्शन गरेका छन् ।
तीर्थालुको संख्या बढेसँगै मन्दिरमा संकलन हुने भेटी रकमसमेत वृद्धि भएको छ । साउनमा ३ लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो । भदौमा १३ लाख ६७ हजार रुपैयाँ संकलन हुँदा असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी जम्मा भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।
तीन महिनाको कुल तीर्थालु संख्याको आधाभन्दा बढीले असोजमा दर्शन गरेका छन्। त्यसैगरी, कुल भेटी रकमको झन्डै आधा रकम पनि असोज महिनामै संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा दर्शन गर्न आउने तीर्थालुको संख्या र संकलित भेटी रकमको विवरण प्रत्येक महिना सार्वजनिक गर्दै आएको छ ।

























