
काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
विराटनगर किंग्सले आइतबार ३८ वर्षीय रसेललाई अनुबन्ध गरेको जनाएको हो। यसअघि टोलीले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो क्षमता देखाइसकेका रसेल आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित छन् ।
उनले हालसम्म ६११ टी–२० खेलमा दुई शतक र ३६ अर्धशतकसहित ९ हजार ९ सय ३३ रन बनाएका छन्।बलिङतर्फ उनको नाममा ५३९ विकेट छ । रसेलको आगमनसँगै विराटनगर किंग्सको टोली थप बलियो हुने अपेक्षा गरिएको छ ।



















