
एजेन्सी । अनुयायीहरूलाई येशूलाई भेट्ने नाममा भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए ।
न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरेकी छन् । अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो । खाना खान वा त्यहाँबाट भाग्न खोज्नेलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिटसमेत गरिएको थियो ।
म्याकेन्जीले अनुयायीहरूलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिएको पनि अदालतमा उल्लेख गरिएको छ । न्यायाधीशका अनुसार चिकित्सा उपचारलाई ‘शैतानको साधन’ का रूपमा प्रस्तुत गरिएको थियो ।
सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए । घटनापछि म्याकेन्जे र उनकी श्रीमतीसहित दर्जनौँ व्यक्तिविरुद्ध अभियोग लगाइएको थियो । म्याकेन्जीले भने आफूले अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गर्दै आरोप अस्वीकार गरेका थिए ।
घटनामा आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताएका छन् । उनले यसले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा व्यक्त गरे ।
सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो । यसअघि उच्च अदालतले अभियोगको सङ्ख्या १२ मा सीमित गर्न निर्देशन दिएको भए पनि पुनरावेदन अदालतले कानुनले अभियोगको सङ्ख्या नतोकेको ठहर गरेको थियो ।
म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र नोभेम्बर ६ मा सजाय सुनाइने तय भएको छ ।

























