
झापा । दोस्रो झापा महिला गोल्डकप फुटबल प्रतियोगिता आगामी मंसिर ५ देखि १२ गतेसम्म शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा सञ्चालन हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
झापा महिला गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबसहित आठ टोली सहभागी हुनेछन् । भारत र भुटानका एक–एक टोली तथा नेपालका ए डिभिजन क्लबका दुई टोलीले पनि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपविजेता टोलीको पुरस्कार राशि भने आयोजकले विज्ञप्तिमा खुलाएको छैन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
महिला फुटबलको विकास र झापालाई महिला फुटबलको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्ने, स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने र ग्रासरुटबाटै प्रशिक्षणको व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगिताका लागि दुधे रंगशालाको स्तरोन्नति भइरहेको छ । आयोजकका अनुसार खेलमैदान सुधार र बाँसको अस्थायी प्यारापिट निर्माणको काम कात्तिक तेस्रो सातासम्म सक्ने गरी अघि बढाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । टिकट बिक्रीबाट प्राप्त रकममध्ये प्रतिटिकट १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

























