
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) औपचारिक रूपमा शुरू हुँदैछ । यस अवसरमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले अङ्ग्रेजीमा सन्देश लेख्दै एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको प्रशंसा गरेका छन् । उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा उल्लेख गरेका छन् ।
शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सव, नेपाल प्रिमियर लिग आजदेखि शुरू हुँदैछ र यो केही वर्षभित्रै एउटा ठूलो खेलकुदको भव्य उत्सवका रूपमा विकसित भएको छ ।’
उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई स्वागत गरेका छन् । साथै, उनले नेपाली खेलाडीहरू, आयोजकहरू र नेपाल क्रिकेट संघ (क्यान) प्रति शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटको प्रगतिको कामना गरेका छन् । उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाह एनपीएल क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् ।

























