बिर्तामोड । ग्रामीण क्षेत्रका प्रतिभाशाली महिला फुटबल खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने र खेलकुदमार्फत युवालाई लागुऔषधको दुर्व्यसनबाट टाढा राख्ने उद्देश्यले झापाको भद्रपुरमा खुला नकआउट महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
भद्रपुर नगरपालिका–४, ज्ञाने चोकस्थित मायालु सामुदायिक वनको खेल मैदानमा आगामी कात्तिक १४ देखि २१ गतेसम्म ‘प्रथम बलिहाङ तङनाम खुला नकआउट महिला फुटबल’ प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आयोजक पूर्णिमा युवा क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी दिएको छ । क्लबका अध्यक्ष सतिश लिम्बूका अनुसार प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका सातवटा टोलीसँगै भारतको एउटा टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ८१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउने क्लबका सचिव सनतकुमार राई (सञ्जोगी) ले जानकारी दिए ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले नगद दुई हजार रुपैयाँ प्राप्त गर्नेछिन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही तीन हजार पाँच सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष मानप्रसाद लिम्बू (बिरबल) ले बताए ।
प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका महिला फुटबल प्रतिभाको पहिचान र विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ । फुटबलप्रति युवाको आकर्षण बढाउँदै उनीहरूलाई लागुऔषधको दुर्व्यसनबाट टाढा राख्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको संयोजक विशाल इदिङगोले बताए ।
महिला फुटबलको विकास, नयाँ खेल प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षासहित प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।