
काठमाडौं । नेकपा (एमाले) पछिल्लो समय सरकारप्रति आक्रामक देखिएको छ । एमाले सरकारसँग भिड्ने मुडमा देखिएको हो ।
पूर्वप्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ओलीले आन्दोलन अपरिहार्य भएको बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा ओलीले सरकार फाँसीवादतर्फ अघि बढेको आरोप लगाए । नागरिकले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले सरकारविरुद्ध सडक संघर्षका लागि मानसिक रूपमा तयार रहन पार्टी पंक्तिलाई आग्रह गरे ।
ओलीले आन्दोलनको समय अहिले, भोलि वा तिहार–छठपछि हुन सक्ने भन्दै पार्टीभित्रैबाट तयारी गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले आन्दोलनकारी ढंगबाट अगाडि बढ्नुको विकल्प छैन । अहिले होस् कि भोलि होस् कि तिहार छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ । भित्रभित्रै तयारी अवस्थामा रहनुपर्छ ।’
सरकारले गुण्डाराज चलाएको आरोप लगाउँदै ओलीले पूर्वप्रधान न्यायाधीशदेखि आफूलाई समेत पूर्वाग्रह राखेर पक्राउ गरिएको जिकिर गरे । वर्दीबिनाका प्रहरी प्रयोग गरेर बलपूर्वक गिरफ्तारी गर्ने र देशमा त्रास फैलाउने काम भइरहेको उनको आरोप थियो ।
सरकारविरुद्ध आन्दोलनको तयारी गर्न निर्देशन दिएका ओलीले आगामी स्थानीय तहको निर्वाचनलाई पनि पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताए । निर्वाचनमा एमालेलाई पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई असफल बनाउन नेता तथा कार्यकर्तालाई संगठन विस्तार र चुनावी तयारीमा लाग्न निर्देशन दिए ।
‘आगामी चुनावमा हामीलाई नराम्रो ढंगले पराजित गर्न खोज्दैछन्, त्यसलाई हामीले दिवा सपनामा परिणत गराउनुपर्छ,’ ओलीले भने । ओलीको अभिव्यक्तिले एमालेले सरकारविरुद्ध सडक संघर्षको सम्भावनालाई खुला राख्दै पार्टी संगठन आन्दोलन र निर्वाचन दुवैका लागि तयार रहनुपर्ने सन्देश दिएको छ ।



















