
काठमाडौं । सरकारका कामकारबाहीमाथि संसदीय निगरानी र जवाफदेहिता खोज्न प्रतिनिधिसभाको अधिवेशन तत्काल बोलाउनुपर्ने माग विपक्षी दलहरूले गरेका छन् । विभिन्न राजनीतिक तथा समसामयिक विषयमा सरकारसँग जवाफ माग्न संसद् आवश्यक रहेको उनीहरूको निष्कर्ष छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको विपक्षी दलहरूको बैठकले संसद् अधिवेशन आह्वानका लागि पहल गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देनका अनुसार पत्रकारहरूको धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध रहेको विषय तथा न्यायाधीशमाथि महाभियोगलगायतका विषय संसद्मा उठाउनुपर्ने आवश्यकता देखिएको छ ।
उनले संसद् बैठक बोलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुख डिपी अर्यालसँग समेत छलफल गर्ने जानकारी दिए । बैठकमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक वासना थापासहित एमाले संसदीय दलका उपनेता पद्मा अर्याल सहभागी थिए ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल, जनता समाजवादी पार्टीका महन्त ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीलगायत नेताहरूको पनि बैठकमा उपस्थिति थियो । विपक्षी दलहरूले उठाएका विषयमा सरकारको जवाफ माग्ने र संसदीय प्रक्रियामार्फत राजनीतिक तथा सार्वजनिक चासोका मुद्दालाई बहसमा ल्याउने उद्देश्यले अधिवेशन आह्वानको पहल गर्न लागेका हुन् ।
























