
काठमाडौं । नेपाल र हिमालयन पुनर्बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा बुधबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।
बुधबार नेप्से १.४० अंकले बढेर २ हजार ६६५ अंकमा पुगेको छ । अघिल्लो दिन ६.६२ अंकको वृद्धि भएको बजारमा बुधबार भने सामान्य सुधार देखिएको हो । परिसूचकमा थोरै वृद्धि भए पनि कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
बजारमा कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढ्दा १७१ वटाको घटेको छ । नौ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन । यसले समग्र बजारमा खरिदभन्दा बिक्रीको चाप बढी रहेको देखाए पनि पुनर्बीमा कम्पनीको तीव्र मूल्यवृद्धिले परिसूचकलाई सकारात्मक बनाएको छ ।
बुधबार अन्य समूह ६.१८ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो । नेपाल पुनर्बीमा कम्पनीको हकप्रद सेयर जारी गर्ने प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । यो दिन मूल्यवृद्धिका आधारमा नेपाल पुनर्बीमा सबैभन्दा अगाडि रह्यो ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको पनि हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने निश्चित भएपछि लगानीकर्ताको आकर्षण बढेको छ । कम्पनीको सेयर मूल्य ११.४८ प्रतिशतले उकालो लागेको छ । यी दुई कम्पनीको मूल्यमा आएको उछालले अन्य समूहको वृद्धिमा मुख्य योगदान गरेको हो ।
पुनर्बीमा कम्पनीबाहेक स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशत, घोराही सिमेन्टको ५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ४.९७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ४.४२ प्रतिशतले बढेको छ ।
यता शिखर पावरको मूल्य ३.७४ प्रतिशतले घटेको छ । सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६ र जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशतले मूल्य घटेको छ ।
समूहगत कारोबारमा व्यापार र जीवन बीमा समूहबाहेक अधिकांश समूहमा गिरावट देखिएको छ । व्यापार समूह १.११ प्रतिशत र जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन् । बैंकिङ ०.८२, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, विकास बैंक ०.४४, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेका छन् ।
बुधबार कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ । त्यसपछि घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक बढी कारोबार हुने कम्पनीको सूचीमा रहे ।



















