
विराटनगर । मोरङमा भारतबाट अवैध रूपमा नेपाल भित्राइएका १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सयपत्री फूलका तयारी माला बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले विशेष सूचनाका आधारमा १०४ पोका सयपत्री फूलका तयारी माला बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट बुधबार खटिएको टोलीले मोरङको कानेपोखरी गाउँपालिका–४ टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरमा छापा मार्दा ती माला फेला पारेको थियो ।
बरामद गरिएका सयपत्री फूलका मालाको बजार मूल्य १५ लाख ६० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार तस्करीमार्फत भारतबाट अवैध रूपमा नेपाल भित्राएर सहकारीको कोल्ड स्टोरमा भण्डारण गरिएको अवस्थामा माला बरामद गरिएको हो ।



















